कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त

हिमाल प्रेस ५ साउन २०८२ ८:२३ | Monday, July 21, 2025
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकबरे जातको खुर्सानी खेती भएको छ। धवलागिरि-७ शिवाङको धौलागिरि कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानीखेती गरेका हुन्।

‘खुर्सानी लगाएको ठाउँमा झार पलाउन नदिनका लागि बोट उम्रने बाहेकका जमिनमा प्लास्टिकले छोप्ने मल्चिङ प्रविधि अपनाएको हो,’ उनले भने, ‘प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने भएकाले तरकारी खेतीमा यस्तो प्रविधिको प्रभावकारी भएको छ।’

समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा अवस्थित शिवाङमा यसअघि दुई वर्ष परीक्षण गरेर यसपालिदेखि खुर्सानीको व्यावसायिक खेती सुरु गरेको उनले बताए। खुर्सानी खेतीका लागि उनले दुई लाख ५० हजार लगानी गरेका छन्।

धवलागिरिमा यसअघि व्यावसायिक रूपमा अकबरे जातको खुर्सानीखेती नभएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले बताए । घरायसी प्रयोजनको लागि मात्र खुर्सानी खेती हुदै आएको थियो। बजारको सम्भावना भएकाले अकबरे खुर्सानीखेती गरेको किसान मगरले बताए।

स्थानीय बजारमा प्रतिकिलो दुई सय ५० का दरले अकबरे खुर्सानी बिक्री हुन्छ। म्याग्दीमा हाल तराई र पूर्वी पहाडी जिल्लाबाट अकबरे खुर्सानी आयात हुने गर्छ। दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ।

तीस वर्षीय मगरले वैदेशिक रोजगार र परम्परागत खेतीको विकल्पमा खुर्सानीका साथै किबीखेती, कुखुरा र बाख्रापालन गरेर स्वरोजगार बनेका छन्। मगर कराते खेलका खेलाडी हुन्। उनको बगैँचामा ७० किबीका बोट छन्। गत वर्ष तीन हजार किलोग्राम किबी बिक्री गरेका थिए।

प्रकाशित: ५ साउन २०८२ ८:२३ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast