
काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन २०८४ सम्म यथावत रहने बताएका छन्। सरकारबारे प्रश्न उठिरहे पनि अहिलेको गठबन्धन २०८४ सम्म जाने निधिले बताएका हुन्।
‘सरकारबारे प्रश्न उठ्नु स्वाभाविक हो, उठ्नु पनि पर्छ, उठ्छ पनि, मन्त्रीहरूको कामबारे प्रश्न उठ्नु पनि पर्छ,’ हिमालप्रेससँग भने,‘तर, जहाँसम्म सत्ता गठबन्धनको कुरा छ यो २०८४ सम्म जान्छ।’
लोकतान्त्रिक प्रणालीमा प्रश्न उठ्नु स्वाभाविक विषय रहेको बताउँदै उनले विभिन्न असहमति र असन्तुष्टिका बाबजुद यो गठबन्धन ८४ सम्म चल्ने उल्लेख गरे।
निधिले २०८४ सालको निर्वाचन पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारले सम्पन्न गर्ने प्रष्ट पारे। ‘नेकपा एमालेसँग भएको सातबुँदे समझदारीअनुसार सरकारको अर्को कार्यकालको नेतृत्व शेरबहादुरजीले गर्नु हुन्छ र उहाँकै नेतृत्वको सरकारले आमचुनाव गराउँछ,’ निधिले भने।
पूर्वउपसभापति निधिले पार्टीको १५ औँ महाधिवेशनको तयारी हुन नसकेको उल्लेख गरे। महाधिवेशनका लागि महत्वपूर्ण ठानिएको क्रियाशील सदस्यता नवीकरण र वितरणजस्ता काम पूरा हुन अझै बाँकी रहेको उनको भनाइ छ।
निधिले चार वर्षभित्र महाधिवेशन सम्पन्न हुने सम्भावना नरहेको बताए। उनले भने,‘विधानअनुसार चार वर्षभित्र महाधिवेशन गर्नुपर्ने हुन्छ। तर, एक वर्ष थप गर्न सकिने व्यवस्था पनि छ। चार वर्षमै महाधिवेशन होला जस्तो देखिएन। पाँचौँ वर्षमा होस् भन्ने हाम्रो चाहना छ। आवश्यक परे एक दुई महिना अझै थप गर्न सकिन्छ।’
क्रियाशील सदस्यताको काम टुंगिएर मिति तय भइसकेपछि महाधिवेशनसम्बन्धी गतिविधिले तीव्रता लिने उनको भनाइ छ। १४ औँ महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गरिसकेको हुनाले अब उपसभापति वा महामहन्त्रीको उम्मेदवार हुन नसक्ने बताउँदै उनले उपयुक्त समयमा यसबारे निर्णय गर्ने उल्लेख गरे।
निधिले संघीय प्रणालीलाई थप प्रभावकारी बनाउन निर्वाचनको क्रम परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। सुरूमा संघीय त्यसपछि प्रदेशसभा र अन्त्यमा स्थानीय तह निर्वाचन गर्दा उपयुक्त हुने उनको भनाइ छ।