वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था गर्दै सरकार

हिमाल प्रेस १४ असोज २०८३ १२:१६ | Wednesday, September 30, 2026
वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था गर्दै सरकार

काठमाडौँ- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि राष्ट्रिय प्रसारण प्रणालीबाट ४३० मेगावाट विद्युत् घटेको अवस्थामा सरकारले वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था गर्न थालेको छ।

त्रिशूली करिडोरमार्फत काठमाडौँको बालाजु र चपली क्षेत्रमा आपूर्ति हुँदै आएको विद्युत् अवरुद्ध भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक विद्युत् आपूर्तिको तयारी थालेको हो। विद्युत् आपूर्ति अवरुद्ध हुँदा बालाजु र चपली प्रसारण लाइनमा थप दबाब परेको छ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार वैकल्पिक विद्युत् आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले काम अघि बढाएको छ। उनका अनुसार समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले कार्यदलसमेत गठन गरेको छ।

मन्त्रालयले थप भूमिगत विद्युत् सञ्जाल निर्माणको सम्भावनाबारे मंगलबार सडक विभाग र काठमाडौँ महानगरपालिकासँग छलफल गरेको छ।

जाडोयाममा बढ्ने विद्युत् माग व्यवस्थापन गर्ने तयारीस्वरूप प्राधिकरणले थप भूमिगत विद्युत् सञ्जाल निर्माण गर्ने योजना बनाएको छ।

सडक विभागअन्तर्गतको सडक डिभिजन काठमाडौँका प्रमुख सुबोध देवकोटाले भूमिगत विद्युत् सञ्जाल निर्माणका लागि प्राधिकरणलाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेशकुमार राईले फुटपाथमुनि भूमिगत विद्युत् तार व्यवस्थापनमा महानगरपालिकाले सहयोग गर्ने बताएका छन्।

प्राधिकरणको आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बढियतले काठमाडौँ उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनको कामलाई थप व्यवस्थित बनाइने बताए। जाडोयाममा विद्युत् माग व्यवस्थापन गर्न वितरण तथा ग्राहक सेवा निर्देशनालयसँग समेत नजिकबाट समन्वय गरिने उनले बताए।

प्रकाशित: १४ असोज २०८३ १२:१६ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast