सिमीचौरमा सडक भासिएपछि रेसुंगा विमानस्थल सडकखण्ड पूर्ण अवरुद्ध

हिमाल प्रेस १४ असोज २०८३ १२:४९ | Wednesday, September 30, 2026
सिमीचौरमा सडक भासिएपछि रेसुंगा विमानस्थल सडकखण्ड पूर्ण अवरुद्ध

गुल्मी- रेसुंगा नगरपालिका-१० सिमीचौरमा सडक भासिएपछि रेसुंगा विमानस्थल सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक भासिँदा रेसुंगा विमानस्थलसँगै तम्घास-सिमीचौर-राङबास-खज्र्याङ हुँदै रिडी जाने सडकसमेत प्रभावित भएको छ।

सिमीचौरमा करिब ८० मिटर पक्की सडक भासिएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन हुनसकेको छैन।

मोटरसाइकलसमेत जोखिम मोलेर मुस्किलले आवतजावत गरिरहेका छन्। सडक भासिएपछि रु एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

पहिरोका कारण स्थानीय दुईवटा घरसमेत उच्च जोखिममा परेका छन्। स्थानीय तिलबहादुर कुँवरले पहिरोबाट मुस्किलले ज्यान जोगाएको बताउँदै वर्षा हुँदा कतै घर पनि बगाएर लैजाने हो कि भन्ने त्रास कायमै रहेको बताए।

सघन सहरी विकास कार्यालय पाल्पाले ‘एकीकृत सडक स्तरोन्नति कार्यक्रम’ अन्तर्गत निर्माण गरेको उक्त सडक गत असार मसान्तमा निर्माण सम्पन्न भएको थियो। निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै अविरल वर्षाका कारण सडक भासिएको हो।

सघन सहरी विकास कार्यालयका इन्जिनियर घनश्याम यादवले उक्त सडकमा तत्काल यातायात सञ्चालन सहज बनाउनका लागि एकदुई दिनभित्रै अस्थायी मार्ग खोल्ने तयारी भइरहेको बताए।

भासिएको पक्की सडक पूर्णरूपमा पुनर्निर्माण गर्न भने केही समय लाग्ने उनले बताए।

सडक भासिएपछि उक्त क्षेत्रबाट सदरमुकाम तम्घास अध्ययन गर्न आउने विद्यार्थीदेखि रेसुंगा विमानस्थल जाने यात्रु तथा सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

प्रकाशित: १४ असोज २०८३ १२:४९ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast