काठमाडौँ- जटिल प्रसूति समस्या देखिएपछि धादिङकी २४ वर्षीया ममता तामाङको हवाई उद्धार गरी काठमाडौँ ल्याइएको छ।
धादिङको गंगाजमुना गाउँपालिका-५ निवासी तामाङको अवस्था जटिल भई ज्यान जोखिममा परेपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत उद्धार गरिएको हो।
हवाई उद्धारपछि तामाङलाई थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा ल्याइएको छ। उनको अस्पतालमा आवश्यक उपचार भइरहेको छ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा जटिल प्रसूति अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याई जीवनरक्षा गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रमअन्तर्गत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई आपत्कालीन अवस्थामा हवाई माध्यमबाट सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्याउँदै सुरक्षित मातृत्व र जीवनरक्षालाई प्राथमिकता दिइँदै आएको मन्त्रालयले जनाएको छ।



