काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हेलिकप्टरमार्फत हवाई उद्धार गरी काठमाडौँ ल्याइएको छ।
उत्तरगया गाउँपालिका-३ की ३० वर्षीया सुष्मा देवकोटा र उत्तरगया गाउँपालिका-४ की २६ वर्षीया अप्सरा भट्ट मा जटिल प्रसूति समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएकाले थप उपचारका लागि हवाई उद्धार गरिएको हो।
दुवै महिलालाई हेलिकप्टरमार्फत काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ल्याइँदैछ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा सडक तथा यातायात सेवा अवरुद्ध हुँदा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न अस्पतालसम्म पुर्याउन चुनौती थपिएको छ।
यस्तो कठिन परिस्थितिमा जटिल स्वास्थ्य समस्या भएका गर्भवती तथा सुत्केरी महिलाको जीवनरक्षाका लागि आवश्यक समन्वय गर्दै उद्धार र उपचारको व्यवस्था मिलाइएको जनाइएको छ।


