
काठमाडौँ- कांग्रेस नेतृ आरजु राणा देउवाले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा नराम्ररी हार बेहोरेपछि अर्को पटक चुनाव लड्ने आँट नै गरिनन्। शेरबहादुर देउवा प्रधानमन्त्री रहेकै बेला चुनाव लड्न कैलाली ५ पुगेकी उनी कमजोर दाबेदार (तत्कालीन वाम गठबन्धन एवं नेकपा एमाले) नारदमुनि रानासँग हारिन्। रानाले २७ हजार २०२ मत ल्याउँदा आरजुको २२ हजार ३२२ मतमात्र आयो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘पर्यटक उम्मेदवार’ भनेर आरोप लगाउँदा आरजुले कैलालीमै घर किनेको विषय चर्चामा थियो। शक्तिशाली र राष्ट्रिय स्तरमा लोकप्रिय मानिँदा समेत हार बेहोरेपछि आरजु २०७९ सालको आम निर्वाचनमा उम्मेदवार बन्ने चाहिनन्। उनलाई कांग्रेसको समानुपातिक सूचीमा राखियो, अनि सहज रूपमा सांसद बनिन्।
कांग्रेसको १४ औँ महाधिवेशनमा पनि आरजुले समानुपातिक कोटा (महिला क्लस्टर) बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिइन्। जहाँ तेस्रो बढी मत ल्याएर निर्वाचित भइन्। पहिलो नम्बरमा डा. डिला संग्रौला(२८८५ मत), दोस्रो नम्बरमा पुष्पा भुसाल(२७१८ मत) र तेस्रोमा आरजु (२५३६ मत) थियो।
देउवापत्नी भएकै कारण कांग्रेस राजनीतिमा होमिएकी हुन् उनी। १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेकी आरजु १५ औँ महाधिवेशनमा के पदमा लड्छिन्, सर्वाधिक चासोको विषय बनेको छ। कांग्रेसलाई गुण लगाएकोभन्दा उनले बिगार्न भूमिका खेलेको आरोप कांग्रेसजनहरूकै छ। अहिले पनि कांग्रेसवृत्तमा आरजुलाई देउवाले उत्तराधिकारी बनाउनेसम्मको गफ चलिरहेको छ।
आरजुमा शक्तिको भोक र राजनीतिको उत्तरार्द्धमा पुगिसकेका देउवाको गति विपरित दिशामा अगाडि बढिरहेको छ। कांग्रेसमा दुई कार्यकाल सभापति बनिसकेका देउवा विधानअनुसार फेरि सभापति बन्न पाउने छैनन्। उनले सार्वजनिक मञ्चबाटै ‘फेरि सभापति बन्दिनँ’ भनिसकेका छन्।
लामो समयदेखि कांग्रेसको नेतृत्व गरिरहेका देउवा पार्टीको राजनीतिबाट रिटायर हुनै लाग्दा आफ्नो उत्तराधिकारीको खोजीमा छन् यतिबेला। गुटका नेताहरू देउवालाई कुरेर बसिरहेका छन्, उनको उत्तराधिकारी बन्न। देउवाले भने अहिलेसम्म कसैलाई वचन दिएका छैनन्। लामो समयसम्म कांग्रेसको ‘लिगेसी’ बोकेकाले पनि परिवारबाटै कसैलाई अगाडि बढाउन चाहनु देउवाको चाहना अस्वाभाविक होइन। एकमात्र पुत्र जयवीरले राजनीतिमा आउने नसंकेत दिएका छन्, न चाहना नै व्यक्त गरेका छन्। त्यसैले सभापति देउवाले आगामी महाधिवेशनबाट पत्नी आरजुलाई अगाडी बढाउनसक्ने आकलन धेरै कांग्रेस नेताहरूको छ,
देउवा निकट नेताहरूले सुनाउँछन्, ‘देउवा आफू सक्रिय राजनीतिमा नभएपछि आफ्नो उत्तराधिकारीको रूपमा परिवारबाटै कसैलाई अघि बढाउने इच्छा रहेको सुनाउँछन्।’ छोरो राजनीतिमा तयार नभइसकेकाले उनले श्रीमतीलाई नै अघि बढाउने निश्चित छ।
विगतमा देउवा जतिबेला सत्तामा आए, त्यतिबेला आरजु पनि चर्चामा आइन्। बदनाम नै किन नहुन्, आरजु सधैँ देउवा सत्तामा रहदा केन्द्रमा हुन्थिन्। कांग्रेसवृत्तमा भागबन्डादेखि टिकटसम्मको ‘पावर’ आरजुले राख्थिन्। ‘आरजु भाउजूकै कारण मैले टिकट पाएँ। उहाँले सजिलोगरी टिकट दिनुभयो,’ कांग्रेस केन्द्रीय सदस्य सुनिल शर्माले एक कार्यक्रममा केहीदिनअघि भनेका थिए,‘म इमानका साथ भन्छु, डा. शेखर कोइरालाको पक्षबाट टिकट लिएको हो। तर, उहाँ (आरजु) नभएको भए मैले टिकट पाउँदिनथे।’ शर्माकै अभिव्यक्तिबाट पनि आरजु पार्टीभित्र कति शक्तिशाली छिन् भन्ने अनुमान लगाउन सकिन्छ।
विगतबाटै शक्तिमा हात हाल्ने आरजुलाई कसरी शक्तिशाली बनाइरहने यो चिन्ताको विषय देउवा परिवारमा छ। अहिले देउवा परिवारमा हुने कुरा नै आरजुलाई कसरी कांग्रेसको माथिल्लो तहमा पुर्याएर अर्कोपटक पार्टी सभापतिको दावेदार बनाउने भन्ने छ। आरजु पनि यसकै गृहकार्यमा छिन्। उनले यसका लागि अर्थ जोहोमा पनि निकै मेहनत गरेको देखिएको कांग्रेसीहरु नै सुनाउँछन्।
आरजुकै लागि आफू निकटसँग मौन छन् देउवा
आगामी कार्यकालमा आरजु सभापति पदको दाबेदार होइनन्। निकटस्थ नेताहरूका अनुसार आगामी कार्यकाल उपसभापति वा महामन्त्री बन्ने दाउमा आरजु छन्। तर, आरजुलाई कुन टिमबाट लडाउने अन्योलता छ। नेताहरूका अनुसार देउवाले कसैलाई सभापतिमा सिग्नल नदिनुको कारण पनि यही हो। किनकि, देउवा खेमाकै गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौलाले सभापतिमा समर्थन गर्न बारम्बार भनिरहेका छन्। कहिले एकल त कहिले सामूहिकरूपमा उनी हरू देउवासँग वचन लिन पुग्छन्। तर, देउवा मौन छन्।
‘हामीमध्ये एकजना नै तोके पनि हुन्छ। तर मुख खोल्दिनुहोस् भन्दा पनि मौन रहनुभयो,’ सभापतिका आकांक्षी गोपालमानले भने।
१५ औँ महाधिवेशनको मिति नतोकिएको बेला मुख खोल्दा घाटा हुने देउवाले बुझेका छन्। उनी कांग्रेसका वर्तमान सभापतिसँगै भावी प्रधानमन्त्री पनि हुन्। आफू निकटस्थमध्येमा एक जना रोज्दा अन्यले घात गर्नसक्ने राजनीतिका चतुर खेलाडी देउवाले नबुझ्ने कुरै होइनै। अहिले नै मुख खोलेर एक जनालाई वचन दिँदा अरू रूष्ट भएर शेखर ‘क्याम्प’ मा पुग्ने हेक्का देउवालाई छ। त्यसैले उनी मुख बन्द गरेर गुटका नेताहरूलाई अहिले ‘शितल थाङ्गना’ मा सुताएर राख्न चाहन्छन्।
अर्को कुरा, देउवाले पार्टी र राष्ट्रिय राजनीतिमा आरजुलाई ‘सेफ जोन’ मा राख्न चाहन्छन्। कांग्रेस नेताहरूका अनुसार आरजुलाई सहज टिममा राखेर पदाधिकारी बनाउन चाहन्छन्, उनी। यसैले पनि देउवाले आरजुलाई ‘बढावा’ दिइरहेका छन्।
यसअघि देउवाले नै संसद्को संसदीय समितिको सभाति बनाएका थिए। कांग्रेसको कोटामा परेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति आरजु बनेकी थिइन्। कांग्रेस सत्तामा पुगेपछि देउवाले आरजुलाई संसदीय सभापतिमै सीमित राखेनन्, परराष्ट्रमन्त्री नै बनाइदिए।
हाल परराष्ट्रमन्त्री रहेकी आरजु पहिलोपटक कार्यकारी पदमा पुगेकी हुन्। देउवानिकट स्रोतका अनुसार आरजुलाई जिम्मेवार बनाउँदै लैजाने हेतुले मन्त्री पद दिएका हुन्। ‘भाउजू (आरजु) लाई निर्णायक बनाउने ध्येयले शेरबहादुर दाइले आफ्नो कोटामा परेको मन्त्री दिनुभएको हो। तर, जति महत्त्वका साथ मन्त्री दिइएको थियो, त्यति अपेक्षाकृत काम भाउजूबाट भएको छैन र हुन पनि सक्दैन,’ देउवा निकट एक नेता भन्छन्, ‘उहाँलाई मुलुकको चिन्ता नै छैन। संसदमा के बोल्ने के नबोल्ने नै थाहा छैन।’
आफ्नो उपचार गर्न जापानस्थित नेपाली दूतवासमा आमासँगै बसेकी उनले त्यो दूतावासलाई पछिल्लो समय कुखुराको खोर देखिन्। त्यही कुरा संसदमा समेत बोल्न भ्याइन। मन्त्रालयमा तीन जना सहसचिवलाई काम दिन नसकेर जगेडामा राखेकी छन्, उनको व्यवस्थापन पक्ष यस्तो छ। कांग्रेसीहरु मात्र होइन स्वयं देउवा पनि उनको कार्यशैलीबाट सन्तुष्ट त छैनन् तर श्रीमतीको आकांक्षा पुरा गर्नुपर्ने उनको बाध्यात्मक अवस्था मात्र हो।
देउवा, आरजुलाई परराष्ट्रमन्त्री बनाएर ‘परराष्ट्र सम्बन्ध’ दरिलो बनाउन चाहन्थे। तर आरजुबाट त्यो काम हुन सकेन। आरजुलाई कांग्रेसबाट परराष्ट्रमन्त्रीको कुरा आउँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि खुसी नै थिए।
एमाले निकट स्रोतका अनुसार आरजुसँग भारतसँग ‘सुमधुर’ सम्बन्ध भएका कारण आफ्नो सम्बन्ध बन्नेमा ओली सकारात्मक थिए। तर, देउवा–ओलीकै अपेक्षाअनुसार आरजुले काम गर्न नसकेको गुनासो बढेको छ। अहिले पनि देउवा आरजुलाई अघि बढाउने ध्येयमा छन्। ‘अहिले कुन टिममा राखेर जाने भन्नेमा शेरबहादुर दाइ अन्योल हुनुहुन्छ। त्यसमा आरजुको स्वार्थ त छ नै,’ एक नेता भन्छन्।
‘सेफ जोन’ बाट चुनाव लडेर महामन्त्री वा उपसभापति बन्ने रहर!
आगामी कार्यकालमा आफ्नो टिमबाट सभापतिको उम्मेदबार कसलाई बनाउने देउवालाई टाउको दुखाइको विषय बनेको छ। पछिल्लो समय देउवालाई सहयोग गर्दै आएका केही नेता समेत गुट परिवर्तनको खेलमा लागेका छन्। देउवाकै निकटस्थहरु पनि आरजुलाई त्यती रुचाउँदैनन्। उनीहरुले आरजुको भित्री कुरा शैली प्रवृति सबै बुझेका हुनाले मन नपराएका हुन्।
देउवा टिममा देउवा नै नहुने भएपछि उनीहरू सुरक्षित खेमाको खोजीमा छन्। विगतमा देउवा निकटस्थ बालकृष्ण खाण, एनपी साउद, मोहन बस्नेतसहितका नेता अर्का नेता शेखर निकट बनेको कांग्रेसमा चर्चा छ। आफ्ना हस्ती नै ‘टिम परिवर्तन’ मा रहँदा आरजुलाई कसरी अघि बढाउने देउवा चिन्तामा रहेको नेताहरू सुनाउँछन्।
‘कांग्रेसमा पदाधिकारी पदमा धेरै प्रतिस्पर्धा हुन्छ। आरजु भाउजूलाई लड्न सहज देखिँदैन,’ कांग्रेसका एक नेता भन्छन्,‘अब सेफ जोनमा नबसे, पराजय निश्चित छ।’ हुन त कांग्रेसमा पदाधिकारी बन्न दरिलो उम्मेदवार र तल्लो दर्जाबाट चिनिएको हुनुपर्छ। महाधिवेशन प्रतिनिधिबाटै चिनिएको भए मात्र चुनाव जित्न सहज हुन्छ।
अघिल्लो महाधिवेशनमा पनि चर्चामा आएका कतिपयले हारे। आरजुलाई पनि पार्टीमा कार्यकारी भोक चलेकाले यी पदमा तयारी गरिरहेको नेताहरू सुनाउँछन्। देउवाले आरजुलाई अघि बढाउन नै ‘सेफ जोन’ खोजी रहेका छन्। चुनाव लड्न नसक्ने अवस्था हुनसक्ने भएपछि कोषाध्यक्ष झैँ एक महिला उपसभापति वा महामन्त्री पनि मनोनित गर्ने भन्दै विधान परिवर्तन गर्ने हल्ला पनि चलाएको निकटस्थहरु सुनाउँछन् ।
कांग्रेस नेताहरूका अनुसार देउवाले आरजुको ‘ल्यान्डिङ’ कै लागि गगन थापा वा शेखर कोइरालालाई सभापतिमा ‘सिग्नल’ दिने सम्भावना पनि उत्तिकै रहेको छ। हालसम्म बलिया उम्मेदवार गगन र शेखरकै क्याम्पबाट आरजुलाई लडाउने सम्भावना समेत रहेको नेताहरूको भनाइ छ। पछिल्लो दिनमा त आरजु समेत टिम फेर्ने तयारीमा रहेको नेताहरूको भनाइ छ।
उनी हाल शेखरसँग नजिक रहेको नेताहरू सुनाउँछन्। शेखरले पनि एक कार्यकाललाई के फरक पर्छ भनेर ल्याउन सक्ने देखिन्छ। यद्यपि गगन पनि मिसन पीएम लिएर हिँडेको हुनाले शेखरसँगै रहने हुँदा आगामी कांग्रेस अधिवेसनमा शेखर निर्विकल्प झैँ देखिएकाले देउवाले उनैलाई पार्टी सुम्पेको भन्दै सहयोग गर्न सक्ने आकलनहरु पनि छ। तर देउवाले शेखरलाई दुःख दिन उताबाट पूर्णबहादुर र कोइराला परिवारबाट शसांकलाई उठाउन पनि सक्छन्। किनकी राजनीतिमा देउवा कम बोल्ने तर गोटी चाल्न माहिर मानिन्छन्।