धरानमा कार्यपालिका बैठक स्थगित : बजेट प्रभावित हुने अनुमान, हर्क साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो!’

हिमाल प्रेस ८ असार २०८२ २०:२७ | Sunday, June 22, 2025
धरानमा कार्यपालिका बैठक स्थगित : बजेट प्रभावित हुने अनुमान, हर्क साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो!’

इटहरी – धरान उपमहानगरपालिकाकाको कार्यपालिका बैठक स्थगित भएको छ। आइतबार मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवादका कारण कार्यपालिका बैठक १५ मिनेटमै स्थगित भएको हो।

उपमेयर बेघासहित २० वटै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले प्रक्रिया नपुर्‍याई बैठक डाकिएको भन्दै लिखित आपत्ति जनाएपछि बैठक अघि नबढाई स्थगित गरिएको हो। उनीहरूले बजेटको सिलिङ निर्धारण र बजेट पेससम्बन्धी सबै प्रक्रिया पूरा गरेर मात्र बैठक बोलाउनुपर्ने माग गरेका छन्।

उपमेयर नेतृत्वको टोलीले मेयर साम्पाङलाई बुझाएको पत्रमा स्पष्ट रूपमा कानुनी प्रक्रिया पालना गर्न आग्रह गरिएको छ। आगामी आर्थिक वर्ष २०८२।८३ का लागि बजेट पेस गर्नुपर्ने सम्पूर्ण दायित्व मेयरकै भएको उल्लेख गर्दै बेघाले प्रक्रिया मिचेर बैठक बोलाउनु गैरजिम्मेवार भएको आरोप लगाए।

केही दिनअघि मेयर र उपमेयर एक अर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएका थिए। खासगरी श्रमदानको नाममा मेयर साम्पाङले उपमहानगरबाट बजेट भुक्तानी गर्न माग गर्दा उपमेयर बेघाले हस्ताक्षर गरेका थिएनन्। यस कारण दुवै पक्षका समर्थकहरूले उपमहानगरको कार्यालय क्षेत्रमै प्रदर्शन गर्दा कार्यालय परिसर नै तनावग्रस्त बनेको थियो।

धरान–१६ स्थित बहुभाषिक विद्यालयको ग्याबिन पर्खाल निर्माणमा प्रयोग गरिएको जालीको भुक्तानीसम्बन्धी विषयले नै विवाद उत्कर्षमा पुगेको छ।

दुवै पक्षको विवादले कार्यपालिका बैठक अवरुद्ध भएपछि असार १० भित्र बजेट पारित गर्ने संवैधानिक समयसीमा प्रभावित हुने देखिएको छ। बैठक स्थगित भएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘बैठक बस्न सकेन! कसैलाई के को चासो, कसैलाई के को चासो! मन नमिलेपछि हामी यस्तै त हो नि हो ब्रो!’

प्रकाशित: ८ असार २०८२ २०:२७ | Sunday, June 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast