
म्याग्दी- धवलागिरि गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा ५३ थान मिनिटिलर (यान्त्रिक हलो) वितरण गरेको छ। ९ लाख बजेट विनियोजन गरेर पालिकाले प्रतिमिनिटिलर २९ हजार ७५० मा खरिद गरी वितरण गरेको हो।
कृषिमा लागत घटाउन र उत्पादकत्व बढाउन पालिकाको पाँच वडाबाट छनोट भएका किसानलाई अनुदानमा हलो उपलब्ध गराइएको गाउँपालिकाका जिन्सी प्रमुख रमेश शर्माले जानकारी दिए। कृषकले प्रतिमिनिटिलर १४ हजार ८७५ मात्रै तिरेका छन्।
वडा नं २ लुलाङमा ११, वडा नं ३ मुनामा ७, वडा नं ४ मुदीमा ६, वडा नं ६ मराङमा ७ र वडा नं ७ ताकममा २२ वटा मिनिटिलर वितरण गरिएको हो। वडा नं १ गुर्जा र वडा नं ५ मल्कवाङका किसानबाट माग नआएको जनाइएको छ।
शनिबार गाउँपालिकाको कार्यालय मुनामा आयोजित कार्यक्रममा अध्यक्ष प्रेमप्रसाद पुनले उपकरण वितरण गरेका थिए। गोरुको विकल्पका रूपमा मिनिटिलर प्रयोग सहज र समय बचत हुने भएकाले किसानको आकर्षण बढेको कृषि प्राविधिक आश्विन खत्रीले बताए।