शिक्षकका सबै माग होइन, नौबुँदे नै सरकारको कमिटमेन्ट : शिक्षामन्त्री पन्त

हिमाल प्रेस ११ जेठ २०८२ १७:३७
986
SHARES
शिक्षकका सबै माग होइन, नौबुँदे नै सरकारको कमिटमेन्ट :  शिक्षामन्त्री पन्त

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग भएको नौबुँदे सहमति कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। उनले आफू मात्र नभई सत्ता गठबन्धनका सबै दल र प्रधानमन्त्रीसमेत उक्त सहमतिप्रति प्रतिबद्ध रहेको बताए।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बसेको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै मन्त्री पन्तले नौबुँदे सहमति सरकारको नीति तहमा प्रवेश गरिसकेको बताए।

‘मैले गरेको नौबुँदे सहमतिलाई कार्यान्वयन गर्न म प्रतिबद्ध छु। यो सरकारको प्रतिबद्धता हो,सत्ता गठबन्धनको प्रतिबद्धता हो, प्रधानमन्त्रीको पनि प्रतिबद्धता हो,’ मन्त्री पन्तले भने।

उनले शिक्षकमाझ अन्य थप सहमति तथा मागहरू उठाइएकोमा पनि चासो देखाए। यद्यपि आफूले गरेको प्रतिबद्धता भने नौबुँदे सहमति नै भएको प्रष्ट पार्दै उनले त्यसबारे शिक्षक महासंघका प्रतिनिधिहरूसँग थप संवाद गरी अस्पष्ट रहेका बुँदामा सहमति खोजिने बताए।

‘शिक्षक महासंघका साथीहरूले अघिल्ला सहमति पनि एजेन्डा बनाएका छन्, स्वाभाविक रूपमा त्यसमा पनि छलफल हुन्छ। तर मेरो स्पष्ट कमिटमेन्ट भनेको नौबुँदे सहमति हो,’ उनले भने।

छलफलका क्रममा मन्त्री पन्तले आर्थिक बोझ थप्ने खालका मागहरू वर्तमान सरकारले तुरुन्तै वहन गर्न नसक्ने पनि बताए। उनले स्रोतसाधन र अर्थतन्त्रको अवस्थालाई ध्यानमा राखेर मात्र प्रतिबद्धता जनाइनुपर्ने बताए। ‘हामीले प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने अवस्थामा पुग्नुको अर्थ हुँदैन,’ मन्त्री पन्तले भने, ‘अर्थतन्त्रले नटर्ने, आम्दानीले नसक्ने मागहरू अहिलेको सरकारबाट सम्भव छैन।’

उनका अनुसार विद्यालय शिक्षा विधेयकलाई व्यवहारिक र समावेशी बनाउन सरकारले शिक्षक प्रतिनिधिसँग संवाद जारी राख्नेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast