भोलिबाट चितवनमा खिचरा महोत्सव

हिमाल प्रेस २७ पुष २०७९ १२:१७ | Wednesday, January 11, 2023
भोलिबाट चितवनमा खिचरा महोत्सव

चितवन- पूर्वी चितवनको खैरहनीमा बिहीबारदेखि खिचरा महोत्सव हुने भएको छ। थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा आयोजना गर्दै आएको यो महोत्सवको आठौँ संस्करण हो।

पुस २८ देखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ। महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारू जातिको रहनसहन र वेशभूषाका साथै खानाका परिकारलाई प्राथमिकता दिइने छ। बसोबास रहेका २५ जिल्लाका थारूको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उनले जानकारी दिए।

महोत्सवका लागि प्रवेशद्वार, मञ्च तथा कक्ष निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको संयोजक चौधरीले जानकारी दिए। महोत्सवबाट यो जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको जगेर्नामा ठूलो टेवा पुग्ने उनले बताए।

उनका अनुसार महोत्सव स्थलमा घोँगी र पोका (चिचर)को मूर्तिसमेत राखिनेछ। त्यसबाहेक ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक कक्ष हुने उनले जानकारी दिए। महोत्सवमा कृषि प्रवर्द्धन परिसरसमेत रहनेछ।

महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ। यसको सम्पूर्ण तयारी करिब पूरा भएको आयोजकको भनाइ छ।

प्रकाशित: २७ पुष २०७९ १२:१७ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast