
काभ्रेपलाञ्चोक- नमोबुद्ध नगरपालिकाका चारवटा वडाका बालबालिकामा हेपाटाइटिस संक्रमण भएको छ। नगरको केन्द्र भकुण्डेबेँसी वरपरका ती वडाका केही बिरामी परेका र स्थानीय अस्पतालमा उपचार गराएकामध्ये १८ बालबालिका संक्रमित भएका मेथिनकोट अस्पतालका चिकित्सकहरूले बताएका छन्।
मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवनचन्द्र झाका अनुसार वडा न २, ३, ४ र ६ का बालबालिका तथा नजिकको विद्यालयमा अध्ययनरत विद्यार्थीमा संक्रमण देखिएको हो। उनले पानी वा खानेकुराबाट संक्रमण भएको हुनसक्ने आशंकामा नमूना संकलन गरी परीक्षणमा पठाइएको बताए। संक्रमितमध्ये अस्पतालमै कार्यरत एकजना चिकित्सकसमेत रहेको पाइएको छ।
मंगलबारदेखि जन्डिसलगायतक लक्षणसहित बिरामी अस्पताल आउन थालेपछि नमूना संकलन गरी परीक्षण गर्दा हेपाटाइटिस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। मेडिकल सुपरिटेन्डेन्ट झाले ‘हेपाटाइटिस–ए’ वा ‘इ’ हो भन्नेबारे परीक्षणपछि मात्रै यकिन गर्न सकिने बताए।