काठमाडौँ- डियरवाक धादिङ स्कुलका विद्यार्थीहरूले मञ्चन गरेको बालनाटक ‘क्यानभास’ ले नेपाली शिक्षा प्रणाली, बालमनोविज्ञान र जीवनोपयोगी शिक्षाको आवश्यकतामाथि बहस सिर्जना गरेको छ।
रंगकर्मी तथा शिक्षक राजन भुजेलको लेखन तथा निर्देशनमा तयार भएको नाटक काठमाडौँस्थित सत्यमोहन जोशी थिएटरमा मञ्चन गरिएको हो।
उक्त नाटकले भारतको प्रतिष्ठित Hyderabad Children’s Theatre Festival मा ‘Best Drama’ उपाधि समेत जितेको विद्यालयले जनाएको छ।
नाटकले बालबालिकालाई ‘खाली क्यानभास’ को प्रतीकका रूपमा प्रस्तुत गर्दै उनीहरूको उमेरअनुसारको मनोवैज्ञानिक विकास, पढाइको दबाब र आफ्ना भावना व्यक्त गर्न सक्ने वातावरणको आवश्यकतालाई केन्द्रमा राखेको छ।
पूर्वीय दर्शनको नवरससँग बालमनोविज्ञानलाई जोडेर तयार गरिएको कथाले बाल्यावस्थादेखि किशोरावस्थामा प्रवेश गर्ने क्रममा देखिने द्वन्द्व, अन्योल र आत्मपहिचानको यात्रालाई चित्रण गरेको छ।
नाटकमा बालबालिकाको क्षमता विकासमा अभिभावक, शिक्षक र राज्यको भूमिकालाई महत्त्वपूर्ण रूपमा उठाइएको छ।
समयको सदुपयोग, व्यक्तिगत क्षमता पहिचान र जीवनोपयोगी शिक्षालाई जोड्दै शिक्षणलाई घोकन्तेभन्दा सिर्जनशील बनाउनुपर्ने सन्देश नाटकले दिएको छ।

दश जना विद्यार्थी कलाकार रहेको नाटकमा रितु पात्रको अभिनय विशेष रूपमा प्रभावशाली देखिएको थियो। उनको केन्द्रीय भूमिकाले दर्शकलाई अन्त्यसम्म बाँधेर राख्न सफल भएको प्रतिक्रिया दर्शकले दिएका थिए।
नाटकले वर्तमान शिक्षा नीतिमाथि पनि प्रश्न उठाउँदै नैतिक शिक्षा, सिर्जनशील सिकाइ र प्रतिभामुखी शिक्षणको आवश्यकता औँल्याएको छ।
पाठ्यपुस्तकमा सीमित शिक्षाभन्दा विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने वातावरण विद्यालयहरूले निर्माण गर्नुपर्ने सन्देश यसले दिएको छ।
विद्यालयले नाटकसहित अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको नेतृत्व, आत्मविश्वास, प्रस्तुति कला र जीवनोपयोगी सिप विकासमा जोड दिँदै आएको जनाएको छ।


