नेता र सरकार फेर्ने अधिकार जनतामा छ : पूर्वउपप्रधानमन्त्री निधि

हिमाल प्रेस ९ वैशाख २०८२ २०:११
14
SHARES
नेता र सरकार फेर्ने अधिकार जनतामा छ : पूर्वउपप्रधानमन्त्री निधि नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि

ललितपुर– नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा निहित रहेको बताएका छन्।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रसार विभागले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ विषयक बागमती प्रदेशस्तरीय कार्यक्रममा पूर्वउपसभापति निधिले यस्तो बताएका हुन्।

निधिले गणतन्त्र र वर्तमान व्यवस्थाका पक्षमा जनतामा सकारात्मक धारणा विकास गराउन संगठित, सैद्धान्तिक, राजनीति र वैचारिक बहसलाई जोड दिनुपर्ने बताए।

‘संघीय लोकतान्त्रिक गणतन्त्र प्रणाली चिरायू रहन्छ भनेर जनतालाई आस्वस्त पार्नुपर्छ, सरकार फेरिएला, नेता फेरिएलान्, चुनावबाट नेतृत्व परिवर्तन लोकतान्त्रिक व्यवस्थामा सामान्य कुरा हो, जनताको अधिकार हो, २०८४ मा चुनाव हुँदा केही परिवर्तन हुन्छ, लोकतान्त्रिक पद्धतिको सफल प्रयोग जनताका पक्षमा गर्नु जरुरी छ,’ उनले भने।

पूर्वउपसभापति निधिले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने भ्रमपूर्ण प्रचारलाई चिर्दै थप समृद्धि हासिल गर्न लाग्नुपर्ने अवस्थातर्फ नेता तथा कार्यकर्ताको ध्यानाकर्षण गराए।

‘सहभागितमूलक नीतिनिर्माण र समावेशी शासन व्यवस्थाका लागि कांग्रेसले धेरै काम गरेको छ, पहिलेभन्दा धेरै परिवर्तन भएको छ, लोकतन्त्रमा दल, नेता र नेतृत्वलाई खबरदारी गर्न अधिकार जनतामा छ, उनले भने।

पूर्वउपप्रधानमन्त्री निधिले वर्तमान समयमा विषयमा केन्द्रित रहेर गरिने बहसको अभाव हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे।

‘राष्ट्रको निर्माण, राज्य प्रणालीको व्यवस्थापनमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको छ, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको विकास राज्यको व्यवस्थित आम्दानी र खर्च प्रणाली, लोकतान्त्रिक राज्य प्रणालीको विकासमा नेपाली कांग्रेसले अतुलनीय योगदान गरेको छ। २००७ सालपछि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अभ्यास सुरुआत भयो, त्यसअघि राणाहरुको हुकुमी शासनका आधारमा हुन्थ्यो, गहिरिएर अध्ययन गर्ने हो भने आधुनिक राज्यको निर्माण र राज्य प्रणालीको व्यवस्थापनमा कांग्रेसले धेरै काम गरेको छ,’ उनले भने।

कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीको इतिहास बुझाएर वर्तमान र भविष्यप्रति जिम्मेवार बनाउँदै युवाहरुलाई पार्टीमा सक्रिय बनाउन वैचारिक अभियान चलाउनुपर्ने बताइन्।

‘सामाजिक सञ्जालमा आएका धारणाको आधारमा मात्रै पार्टीको धारणा बनाउनु पनि उचित हुँदैन, विगतको दुःखलाई मूल्यांकन गर्दै वर्तमानको परिस्थितिलाई मूल्यांकन गर्दै सुधार गरेर सुन्दर भविष्य निर्माणमा पार्टी क्रियाशील हुनुपर्छ, समानुपातिक समावेशी आधारमा संसदीय व्यवस्थाबाट नै यो सम्भव हुन्छ,’ उनले भनिन्।

पार्टीको सूचना, सञ्चार तथा प्रसार विभागका प्रमुख एवं पार्टीको केन्द्रीय सदस्य मीन विश्वकर्माले जनजन र मनमनमा विकसित हुँदै गएको नकारात्मक धारणालाई अन्त्य गर्न आवश्यक रहेको बताए।

‘देशव्यापी रुपमा पार्टीका बारेमा विकसित भएको नकारात्मक धारणा र गलत बुझाइलाई चिर्न आवश्यक छ, २००७ पछि नेपालको राष्ट्र निर्माणमा कांग्रेसका युवाहरुले दिएको योगदानका विषयमा अहिलेको युवाहरूलाई सचेत गराउनु आवश्यक छ, कांग्रेससँग कायम रहेको गौरवशाली विगत, जिम्मेवारीपूर्ण वर्तमान र समृद्ध भविष्यको सम्पूर्ण जनजनमा सत्यतथ्य इतिहास बुझाउन अनिवार्य भएको छ, उनले भने।

प्रकाशित: ९ वैशाख २०८२ २०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast