शिक्षक महासंघको आन्दोलन चर्कियो, विद्यालयहरू अनिश्चितकालका लागि बन्द

हिमाल प्रेस २ वैशाख २०८२ ६:४३ | Tuesday, April 15, 2025
शिक्षक महासंघको आन्दोलन चर्कियो, विद्यालयहरू अनिश्चितकालका लागि बन्द

काठमाडौँ- नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाडौँमा जारी शैक्षिक आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेको छ। महासंघले माघ २० गतेदेखि सुरु गरेको आन्दोलनअन्तर्गत चैत २५ गतेदेखि देशभरका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ।

महासंघको राष्ट्रिय समितिले साेमबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनलाई अन्तिम र निर्णायक चरणमा पुर्‍याउने बताएको छ। महासंघका अनुसार काठमाडौँ केन्द्रित सडक आन्दोलन अहिले पनि जारी छ र यसमा देशभरका सबै शिक्षक, प्रधानाध्यापक तथा विद्यालय कर्मचारीको अनिवार्य सहभागिता अपेक्षा गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय विद्यालय शिक्षा तथा विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यले गरिएको यो आन्दोलन अन्तिम र निर्णायक हो।’

महासंघले आन्दोलनका क्रममा कुनै पनि शैक्षिक क्रियाकलाप- जस्तै उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार तथा शैक्षिक भ्रमणमा सहभागी नहुन सबैलाई आग्रह गरेको छ।

त्यस्तै, २०८२ वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालनका लागि शिक्षकहरूलाई केन्द्राध्यक्ष वा निरीक्षक जस्ता भूमिकामा सहभागी नहुन पनि अपिल गरिएको छ। महासंघले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स), स्थानीय तह र सम्पूर्ण शैक्षिक सरोकारवालालाई आन्दोलनमा सहयोग र समर्थन गर्न अनुरोध गरेको छ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा सरकारले शीघ्र शिक्षा ऐन ल्याएर विद्यालय शिक्षाको गुणस्तर सुधारतर्फ कदम चाल्नुपर्ने स्पष्ट रूपमा माग गरिएको छ।

प्रकाशित: २ वैशाख २०८२ ६:४३ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast