शिक्षा ऐनबिना नयाँ वर्ष अधुरो : अध्यक्ष सुवेदी

हिमाल प्रेस १ वैशाख २०८२ ७:०७
572
SHARES
शिक्षा ऐनबिना नयाँ वर्ष अधुरो : अध्यक्ष सुवेदी

काठमाडौँ- नयाँ वर्ष २०८२ को आरम्भ आम नागरिकले हर्षोल्लासका साथ मनाइरहेका बेला देशभरका शिक्षक कर्मचारीहरू भने शिक्षा ऐनको माग गर्दै आन्दोलनरत छन्। गत चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज १३औं दिनमा प्रवेश गरेको छ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनरत शिक्षकहरू यस वर्षको नयाँ वर्ष सडकमै मनाउन बाध्य भएका छन्। ‘यसपालीको नयाँ वर्ष हामी सडकमा नै मनाउँदैछौं,’ अध्यक्ष सुवेदीले भने,‘नयाँ वर्षको आरम्भको यो दिन पनि आम विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्दैछौं।’

अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग दोहोर्‍याएका छन्। उनले भने, ‘यो वर्ष अग्रगामी शिक्षा ऐन जारी भई शिक्षक–कर्मचारीका तमाम समस्या समाधान हुन सकोस्, विद्यालय शिक्षाले प्रगतिको नयाँ मार्ग समात्न सकोस् भन्ने हाम्रो चाहना छ।’

उनले आन्दोलनको क्रममा शिक्षकहरू थकित नभएको भन्दै सबैलाई सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्। ‘हामीलाई थाक्ने वा गल्ने सुविधा छैन। हामी जितका लागि लडिरहेका छौं। आन्दोलन बलियो बनाऔं, यही एउटा बाटो हो जसले हाम्रो जित सुनिश्चित गर्छ,’ सुवेदीको भनाइ छ।

शिक्षक आन्दोलनको दबाबस्वरूप सरकार र सम्बन्धित निकायबीच केही संवाद प्रयास भए तापनि अझै ठोस समझदारी हुन बाँकी छ। शिक्षक महासंघले आन्दोलन अझ सशक्त बनाउँदै लैजाने बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast