आन्दोलन र जिम्मेवारीमा शिक्षक कर्मचारीहरू : भक्तपुरमा अनशन, विद्यालयमा एसईई

हिमाल प्रेस ७ चैत २०८१ १०:५१ | Thursday, March 20, 2025
आन्दोलन र जिम्मेवारीमा शिक्षक कर्मचारीहरू : भक्तपुरमा अनशन, विद्यालयमा एसईई

काठमाडौँ- सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी यतिखेर विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने मागसहित आन्दोलनरत छन्। करिब दुई महिनादेखि चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरूले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा आफ्ना अधिकार सुनिश्चित गर्न दबाब सिर्जना गरिरहेका छन्।

आन्दोलनको दोस्रो चरणअन्तर्गत आज भक्तपुरस्थित शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा शिक्षक तथा कर्मचारीहरूले रिले अनशन सुरु गरेका छन्। उनीहरूका अनुसार सरकारले शिक्षा ऐन जारी गर्नुपर्ने आफूहरूको मागलाई बेवास्ता गरेकोले बाध्य भएर यो कदम उठाइएको हो। महासंघका आबद्ध तथा सम्बद्ध घटकका प्रतिनिधिहरू अनशनमा सहभागी छन्। महासंघले चैत १५ गतेसम्म अनशन जारी रहने जनाएको छ।

शिक्षक तथा कर्मचारीहरूले आन्दोलनका बाबजुद आफ्नो कर्तव्य पालनामा दृढ रहेको जनाएका छन्। उनीहरूले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) सफल बनाउन आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताएका छन्। लाखौं शिक्षक अहिले विद्यालयका कक्षाकोठामा छन्। उनीहरूले एसईई सञ्चालनमा प्रमुख भूमिका निर्वाह गरिरहेको जानकारी दिएका छन्।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार एसईई विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसलाई कुनै पनि हालतमा प्रभावित हुन नदिने निर्णय महासंघले लिएको छ।

तर, सरकारले माग पूरा नगरेको खण्डमा एसईईपछि थप सशक्त आन्दोलन गर्ने रणनीति महासंघको छ। उनीहरूले परीक्षापछि विद्यालय भर्ना तथा पठनपाठन ठप्प पार्ने चेतावनीसमेत दिएका छन्। यसले मुलुकको शैक्षिक प्रणालीमा ठूलो असर पार्न सक्ने भएकाले  यथाशीघ्र ऐन जारी गर्न महासंघले सरकारलाई आग्रह गरेको छ।

शिक्षकहरू शिक्षा ऐन नआएसम्म आफ्नो आन्दोलनलाई अझ प्रभावकारी बनाउने तयारीमा रहेको बताउँछन्। उनीहरूको आन्दोलनले विद्यालय तहमा शिक्षा प्रणाली सुधारका लागि नयाँ बहस सिर्जना गरेको छ भने सरकारको भूमिकाप्रति पनि प्रश्न उठेको छ।

याे पनि

प्रकाशित: ७ चैत २०८१ १०:५१ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast