
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी र अभिभावकहरूलाई वैदेशिक शैक्षिक परामर्शको लागि अनुमति प्राप्त संस्थाहरूबाट मात्र सेवा लिन अनुरोध गरेको छ।
बुधबार शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त वा नवीकरण भएको संस्थासँग मात्र सेवा लिन अनुराेध गरेकाे हाे। यस्ता संस्थाहरूको स्वीकृतिपत्र मन्त्रालयको वेबसाइटबाट यकिन गर्न सकिन्छ।
मन्त्रालयले विद्यार्थीसँग परामर्श सेवा, भाषा तथा तयारी कक्षाको सेवा लिँदा लाग्ने सेवा शुल्क र अन्य प्रबन्ध खुलाई संस्थासँग सम्झौता गर्न र एक प्रति विद्यार्थीले राख्न सुझाव दिएको छ। साथै, विद्यार्थी र अभिभावकहरूलाई आफूले अध्ययन गर्न चाहेको विश्वविद्यालय वा शिक्षण संस्थाको उपाधि तह र वैधानिकताबारे जानकारी लिन पनि मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयकाअनुसार कुनै पनि संस्था कानूनी रूपमा स्थापित नभएर सम्बन्धित मन्त्रालयबाट सेवा प्रदान गर्ने अनुमति नलिएको अवस्थामा स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराउनुपर्नेछ।
शैक्षिक परामर्श संस्थाहरूका लागि मन्त्रालयले ८ वटा सर्तहरू लागू गरेको छ। कन्सल्टेन्सीहरूले आफ्ना स्वीकृति पत्र र आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन नवीकरण पत्र सार्वजनिक स्थानमा राख्नुपर्नेछ।
साथै, वैदेशिक अध्ययनको लागि सेवा प्रदान गर्दा ‘फ्री भिसा’, ‘रोजगारी ग्यारेन्टी’, वा ‘डिपेन्डेन्ट भिसा’ जस्ता प्रलोभन नदेखाउन कन्सल्टेन्सीलाई निर्देशन दिएको छ। कन्सल्टेन्सीहरूले आफ्ना सम्झौतासहित अन्य अभिलेख राख्नुपर्नेछ र वैदेशिक अध्ययनको लागि जाने विद्यार्थीले प्राप्त गर्नुपर्ने एनओसीमा संस्थाको नाम अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ।