‘आपसी मतभेद हटायौँ भने एक्लै बहुमत पनि ल्याउन सकिन्छ’

हिमाल प्रेस २६ फागुन २०८१ २०:१९
6
SHARES
‘आपसी मतभेद हटायौँ भने एक्लै बहुमत पनि ल्याउन सकिन्छ’

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर पार्टी संगठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

सोमबार धनगढीमा सुरु भएको पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा उनले आपसी प्रतिस्पर्धाका नाममा पार्टीलाई अहित गर्ने काम गर्न नहुने र सुदूरपश्चिमबाटै यसको सुरुआत गर्न आग्रह गरे।

‘पार्टीभित्रको प्रतिस्पर्धा स्वभाविक मानिए पनि अन्य पार्टीसँगको प्रतिस्पर्धाका क्रममा हुने अन्तर्घात जस्तो रोगलाई सदाका लागि निर्मूल गरेर अघि बढ्नुपर्छ। यसको सुरुआत यहीबाट गरौँ,’ उनले भने।

कांग्रेस–एमालेबीच गठबन्धन गर्नुपर्ने विविध कारण उल्लेख गर्दै सभापति देउवाले मुख्य प्रतिस्पर्धी भए पनि संसद्को गणित र देशको आवश्यकताअनुसार मिलेर सरकार बनाउनुपरेको धारणा राखे।

उनले प्रतिस्पर्धालाई आफ्नो ठाउँमा राखेर देशका हितमा भोलिका दिनमा पनि मिलेर काम गर्न सकिने बताए। ‘संविधानबमोजिम राष्ट्र नै समावेशी र समानुपातिक पद्धतिमा चलेकाले प्रत्यक्ष चुनावमा कुनै पनि पार्टीको बहुमत प्राप्त गर्न नसकेकाले कुनै पनि पार्टीसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको छ। प्रतिस्पर्धा हुन्छ तर मिलेर पनि काम गर्नुपर्ने आवश्यकता छ। भोलिका दिनमा हामी सबै मिले संगठन बलियो बनाउन लाग्यौँ भने एक्लै बहुमत पनि ल्याउन सकिन्छ। त्यसका लागि इमान्दर भएर लागौँ,’ देउवाले भने।

उपसभापति पूर्णबहादुर खड्काले पार्टीले गरेका राम्रा कामको प्रचार गरेर पार्टीप्रति जनताको विश्वास र भरोसा जगाउन जरूरी रहेको बताए। उनले भने, ‘पार्टीप्रतिको भरोसाको जगलाई आधार बनाएर अहिले देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सकिन्छ। त्यसमा सबै जुटौँ, आआफ्नो क्षेत्र र तहबाट राम्रो काम गरौँ।’

महामन्त्री गगन थापाले देशमा व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएको गुनासो आइरहेकाले पार्टीले नागरिकको असन्तुष्टिको आगो निभाउनेतिर लाग्नुपर्ने बताए।

उनले शासनको भार संविधानलाई बोकाएर नहुने भन्दै संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधानबमोजिम जनताको अवस्था बदल्ने विश्वास दिन जरूरी रहेको बताए।

‘नागरिकले हामीले भनेको हरेक परिवर्तनका आन्दोलनमा साथ दियो। हामीले व्यवस्था बदल्न साथ देऊ, अवस्था बदल्न लाग्छौँ भनेर वाचा ग¥यो। आज त्यो पूरा भएन भनेर असन्तुष्टि छ। जनताले अवस्था बदल्ने गरी सेवा प्रवाह खोजेकोले व्यक्तिगत आकांक्षातिर नलागेर काम गर्नुपर्छ। वाचा पूरा गर्न ठोस काम गर्न जरुरी छ,’ उनले भने।

महामन्त्री थापाले समयमै पार्टीको महाअधिवेशन गर्ने कुरा पार्टीका क्रियाशील सदस्यमा भर पर्ने बताउँदै समयमै सदस्यता नवीकरण गराएमा अधिवेशन समयमै हुने बताए।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको व्यवस्थाभित्रैबाट सबैको हित गर्न सकिने चर्चा गर्दै पुरानो व्यवस्थाबाट पार नलाग्ने बताए। विगतमा देशको प्रतिकूलतालाई अनुकूलतामा लैजाने कामको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै उनले पार्टीले संयमता, एकता, परिपक्वताका साथ काम गर्ने समय आएको बताए।

कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले व्यवस्था र संविधानविरुद्ध भइरहेको षड्यन्त्रलाई राष्ट्र र कांग्रेसविरुद्धको षडयन्त्रको संज्ञा दिए। उनले सहिष्णुता, उदारता जस्ता नेपाली लोकतन्त्रका विशेषतालाई कमजोरीका रूपमा नलिन परिवर्तनविरोधीलाई चेतावनी दिए।

कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुशासन कायम गर्न प्रदेश सरकारले इमान्दारिता र नैतिकताका साथ काम गरिरहेको बताए।

सम्मेलनको उद्घाटन समारोहमा कांग्रेसका प्रकाशशरण महत, सहमहामन्त्रीहरू जीवन परियार, भीष्मराज आङदम्बे, महालक्ष्मी (डिना) उपाध्याय, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला, डा.शशांक कोइराला, प्रदेश सभापति वीरबहादुर बलायरलगायतले सम्बोधन गरेका थिए।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट कांग्रेसका प्रतिनिधि सहभागी सम्मलेनमा पार्टीका प्रदेश महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।

प्रकाशित: २६ फागुन २०८१ २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast