
काठमाडौँ- नेपाल राहत शिक्षक संघका केन्द्रीय समितिका सहसंरक्षक र निवर्तमान महासचिव, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य कुमार बजगाईँले सरकारले विद्यालय शिक्षा विधेयक–२०८० संसद्को हिउँदे अधिवेशनबाट पारित नगरेसम्म कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले शिक्षा ऐनका लागि आन्दोलनको विकल्प नै नभएको बताए।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन सो विधेयकलाई शिक्षा ऐनको रुप नदिएर सरकारले यसमा गम्भीर ध्यान नदिएकोमा उनले कडा आलोचना गरेका छन्। बजगाईँले भने, ‘यदि शिक्षा ऐनको पारित गर्नका लागि सरकार गम्भीर नभए, भने नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनको आँधीबेहेरी ल्याउने छ।’
महासंघले शिक्षा ऐनका लागि दबाब दिने उद्देश्यले भोलि काठमाडौँको माइतीघरमा प्रदर्शन गर्ने निर्णय गरेको छ। यस प्रदर्शनमार्फत शिक्षाको सुधारको लागि सरकारसँग स्पष्ट कदम उठाउने दबाब बनाउने योजना गरिएको छ।
बजगाईँले शिक्षकका वर्तमान समस्याहरूको विषयमा पनि जोड दिएका छन्। उनले भने, ‘राज्यले राहत, अस्थायी, बालविकास कर्मचारीहरूको जन्माएको हो, तर अस्थायीका नाममा हामीलाई प्रयोग गरिएको छ। राज्य यसमा संयमित हुनुपर्छ।’
उनले थपे,‘अहिले ५०/६० हजार शिक्षक दरबन्दी खाली छ। यसरी प्रक्रिया पुर्याएर, कुनै पनि शिक्षकलाई विस्थापित नगरी स्थायी रूपमा नियुक्ति गर्नुपर्छ।’