महासंघले गर्‍यो शिक्षकप्रति प्रधानमन्त्रीको असहिष्णु र अशोभनीय अभिव्यक्तिको विरोध

हिमाल प्रेस २१ फागुन २०८१ १२:२५ | Wednesday, March 5, 2025
महासंघले गर्‍यो शिक्षकप्रति प्रधानमन्त्रीको असहिष्णु र अशोभनीय अभिव्यक्तिको विरोध

भक्तपुर- नेपाल शिक्षक महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षक समुदायलाई लक्षित गरेर दिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिको विरोध गरेको छ।

प्रधानमन्त्री ओलीले हालैको एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘यतिबिघ्न शिक्षक छन्। अस्थायीलाई स्थायी गरिदेऊ भनेको छ। करारलाई स्थायी गरिदेऊ भनेका छन्। तनखा बढाउ पुगेन भनेको छ। किन बढाउने तनखा ४८ प्रतिशत पास गर्न? ५२ प्रतिशत फेल गर्न?’ उनले शिक्षकहरूको कार्यक्षमता र तिनीहरूको योगदानको आलोचना गर्दै थपे, ‘५२ प्रतिशत युवा वर्गको सपना एसईईमै समाप्त। यस्तो गर्नुहुँदैन। म दावाका साथ भन्छु, हाम्रो युवा वर्ग लद्दु छैन, बुद्दु छैन। ट्यालेन्ट छ, जिनियस छ। पढाउन सुविधा दिँदैनौं, राम्रोसँग पढाउन सक्दैनौं, राम्रोसँग ज्ञान सम्प्रेषण गर्दैनौं, त्यो कमजोरी उसलाई बोकाउने?’

प्रधानमन्त्रीको उक्त टिप्पणीलाई शिक्षक समुदायले अस्वीकार गरेको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका भनाइलाई ‘निन्दनीय’ र ‘अमर्यादित’ भनेका छन्। उनका अनुसार शिक्षकहरूले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारको लागि निरन्तर मेहनत गर्दै आएका छन् र प्रधानमन्त्रीको यो टिप्पणी तिनीहरूको परिश्रम र योगदानको अपमान हो।

यस्ता अभिव्यक्तिहरू भविष्यमा पुनः नदोहोर्‍याउन सबै सम्बन्धित पक्षलाई महासंघले चेतावनी दिएको छ। महासंघका अध्यक्ष सुवेदीले भने,‘शिक्षकहरूको सम्मान र प्रतिष्ठामा सम्झौता नगरिनुपर्छ र तिनीहरूको परिश्रम र योगदानलाई सम्मानका साथ स्वीकार गर्नुपर्छ।’

समाजमा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको र तिनीहरूको योगदानले मात्रै देशको शिक्षा क्षेत्रको विकास सम्भव रहेको महासंघको भनाइ छ।

प्रकाशित: २१ फागुन २०८१ १२:२५ | Wednesday, March 5, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast