राष्ट्रपति पौडेलद्वारा सराङकोटधाम उद्घाटन

हिमाल प्रेस १७ फागुन २०८१ १९:१७
6
SHARES
राष्ट्रपति पौडेलद्वारा सराङकोटधाम उद्घाटन

पोखरा– राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक एवं पर्यटकीय क्षेत्र सराङकोटधाम उद्घाटन गरेका छन्।

सराङकोट टपमा निर्मित विशाल पञ्चमुखी गणेश मूर्ति, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिंग तथा जलधारा, ऐतिहासिक भूमेकालिका, भैरव मन्दिरसहित धार्मिक संरचना एवं त्यहाँ जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महाउत्सवको शनिबार विधिपूर्वक पूजाअर्चना गरी उद्घाटन गरेका हुन्।

राष्ट्रपति पौडेलले जीवनमा एकपटक पुग्नैपर्ने धामका रुपमा सराङकोटलाई चिनाउँदै यहाँ निर्मित संरचनाको उद्घाटन गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

‘सराङकोट यहाँको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तव्य हो। यसले समग्र पोखरा तथा गण्डकी प्रदेशमै पनि पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान दिन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘आँखै अगाडि देखिने हिमशृङ्खला हेर्नमात्रै होइन, सूर्योदय र सूर्यास्तमा पोखरा नियाल्न पनि सराङकोट पुग्नैपर्दछ।’

उनले कृषि, जलस्रोत, पर्यटन तथा पूर्वाधार राष्ट्र निर्माण आधार भएको चर्चा गर्दै पोखरा भ्रमण वर्ष–२०२५ ले समग्र नेपालकै पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले सराङकोटधामको एकीकृत विकासमा जोड दिँदै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको उल्लेख्य भूमिका रहेको बताए। उनले पोखरेलीले पर्यटकको आतिथ्यमा आर्जन गरेको ज्ञान, सीप तथा क्षमता राज्यकै लागि अनुकरणीय रहेको सुनाए।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटन विकासमा गण्डकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै राष्ट्रपतिबाट सराङकोट धामको उद्घाटन हुनु प्रदेशकै लागि गौरवको विषय भएको बताए।

पोखराका मेयर धनराज आचार्यले सराङकोट पोखरा दृश्यावलोकनस्थल रहेको बताए। उनले पर्यटनको राजधानी घोषणासँगै पोखरा थप लोकप्रिय बन्दै गएको चर्चा गर्दै त्यसयता विकास साझेदार संस्थाहरुको पनि प्राथमिकतामा पोखरा पर्दै गएको अनुभव सुनाए।

सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसी, पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनालगायतले सराङकोटको महत्वमाथि धारणा राखे।

सराङकोटको विकासमा महत्वपूर्ण योगदान दिएकोमा पोखराका मेयर धनराज आचार्य, भागवत् भाष्कर पण्डित कमलनयन गौतम, रियल स्टेट प्रालिका अध्यक्ष कालु गुरुङ, सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टका संस्थापक अध्यक्ष स्व. लोकबहादुर थापा, इञ्जिनियरद्वय गंगासागर प्रजापती र विश्वदीप शर्मा, हिलटेक कम्पनीका कमल जैन, गुरुयोजना निर्माण संयोजक पशुपति सुवेदी, अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेललाई कदरपत्रद्वारा सम्मान गरियो।

२०६१ सालदेखि गुरुयोजना बनाई सराङकोटमा विभिन्न संरचना निर्माण गरिएको छ। हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिंग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमेकालिका, भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन्।

ती संरचना निर्माणमा करिब ३५ करोड खर्च भइसकेकोमा अझै १५ करोड बराबरका संरचना निर्माण गर्ने समितिको लक्ष्य रहेको महायज्ञ प्रचार संयोजक कृष्ण थापाले बताए।

सराङकोट पुग्न विन्ध्यवासिनीदेखि मोटरबाटो सुविधा छ। केही वर्षयता फेवाताल किनार सेदीदेखि अन्नपूर्ण केबलकार पनि संचालित छ।

प्रकाशित: १७ फागुन २०८१ १९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast