प्रजातन्त्र दिवस नमान्नेहरू लोकतान्त्रिक हुन सक्दैनन् : प्रधानमन्त्री

हिमाल प्रेस २७ माघ २०८१ १५:०२
12
SHARES
प्रजातन्त्र दिवस नमान्नेहरू लोकतान्त्रिक हुन सक्दैनन् : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

ओलीले जनतामाथि दमन गर्ने, हेपाहा खालको प्रवृत्ति देखाउने निरंकुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरे।

‘यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन। यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने,‘मुलुकका लागि यो सबैभन्दा ठूलो परिर्वतन ल्याउने दिन हो। प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन। यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ।’

गृह मन्त्रालयको प्रस्तावबमोजिम प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री एवं राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौँ उपत्यकाभित्रका नगरप्रमुखहरू रहने प्रधानन्त्रीको सचिवालयले जनाएको छ।

त्यस्तै सातै प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ।

विसं. २०७७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाउने गरिन्छ। यस वर्ष फागुन ६।७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरूमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च टुंडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ।

प्रकाशित: २७ माघ २०८१ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast