इटहरीमा कर्मचारी-जनप्रतिनिधि विवाद उत्कर्षमा, उपमेयरले लगाएको ताला मेयरको निर्देशनमा फोडियो

विवेक विवश रेग्मी २४ माघ २०८१ ९:५४
112
SHARES
इटहरीमा कर्मचारी-जनप्रतिनिधि विवाद उत्कर्षमा, उपमेयरले लगाएको ताला मेयरको निर्देशनमा फोडियो

इटहरी- इटहरी उपमहानगरपालिकामा कर्मचारी-जनप्रतिनिधिबीच विवाद उत्कर्षमा पुगेको छ। ‍कर्मचारी सरुवाको विषयलाई सुरु भएको विवाद तालाबन्दी र ताला फोड्ने तहसम्म पुगेको हो। उपप्रमुख संगीताकुमारी चौधरीको नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले प्रशासन प्रमुख सञ्जीव खड्काको कार्यकक्षमा गत माघ ११ गते तालाबन्दी गरेका थिए।

कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै यसअघि कर्मचारीसँग सम्बन्धित विभिन्न संगठनले आपत्ति जनाएका थिए। उपहानगर प्रमुख हेमकर्ण पौडेलले ४८ घण्टाभित्र माफी माग्नुपर्ने माग कर्मचारीले राख्दै आएका थिए। विवाद टुंगिएको थिएन। बुधबार भने उपप्रमुख चौधरीले लगाएको ताला फोडिएको छ।

प्रमुख हेमकर्ण पौडेलको निर्देशनमा इटहरी-६ का वडाध्यक्ष एवम् उपमहानगरका प्रवक्ता दिवस पोखरेलले ताला फोडेका हुन्। ताला फोडेपछि विवाद झनै उत्कर्षमा पुगेको छ। एमाले जनप्रतिनिधिले सहमति बिना ताला फोडेको भन्दै आक्रोश व्यक्त गरेका छन्। यसअघि तत्कालीन प्रशासन प्रमुख खड्काको देवानगन्ज सरुवा भएसँगै उक्त शाखामा दीपक पौडेलले काम सुरु गरिसकेका छन्।

गत २८ पुसमा प्रमुख हेमकर्ण पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको निर्देशनमा तत्कालीन प्रशासन महाशाखा प्रमुख खड्काको हस्ताक्षरमा ७७ जना कर्मचारीको सरुवा गरिएको थियो। कर्मचारी सरुवामा मनपरी गरेको र एमालेबाट निर्वाचित जनप्रतिनिधिसँग सल्लाह नगरिएको भन्दै उपप्रमुख चौधरीसहितका जनप्रतिनिधि आक्रोशित थिए।

कर्मचारी सरुवामा पक्षपात गरेको भन्दै माघ ३ गते कार्यवाहक प्रमुख चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्यको बैठकले निर्णय उल्टाएको थियो । उपमहानगर प्रमुख पौडेलले चौधरीलाई कार्यवाहक प्रमुख तोकेर आफू भारत गएको समयमा चौधरीले प्रशासन प्रमुखकको कार्यकक्षमा तालाबन्दी गरेपछि विवाद उत्कर्षमा पुगेको हो।

प्रमुख पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कर्मचारी ट्रेड युनियनहरूद्वारा आन्दोलनको कार्यक्रमसहित प्रेस विज्ञप्ति जारी भएको अवस्थामा २२ माघ २०८१ मा मेरो कार्यकक्षमा उपप्रमुखसहित जनप्रतिनिधिहरूसँग समस्या समाधानका निम्ति छलफल भएको थियो । तर प्रशासन शाखामा लगाइएको ताला खोल्ने विषयमा सहमति हुन सकेन।’

पालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको सहकार्य र एकापसको आत्मसम्मानसहित सेवाग्राहीलाई सेवा दिनुपर्ने भए पनि तालाबन्दीका कारण काम ठप्प भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। तालाबन्दीका कारण दैनिक कामकाजमा समस्या भएको भन्दै ताला फोड्न निर्देशन दिएको प्रमुख पौडेलले जनाए।

उपप्रमुख चौधरीले सरुवा भएका कर्मचारीको सर्भर डाउन गरी आइडी पासवर्ड डिएक्टिभ गरिएको र त्यसले वडाको काम प्रभावित भएको भन्दै असन्तुष्टि जनाएको बताइन्। आफ्नो सहमति बिना नै ताला फोडिएपछि प्रमुखकै कार्यकक्षमा तालाबन्दी गर्ने उनले चेतावनीसमेत दिइन् । ‘आज पुनः छलफल गर्ने कुरा भएको छ। सहमति जुटेन भने प्रमुखको कार्यकक्षमा ताला लाग्छ’, उनले भनिन्।

यसअघि १३ माघमा एकीकृत सरकारी कर्मचारी संगठन सुनसरी, राष्ट्रिय कर्मचारी संगठन सुनसरी, नेपाल निजामती युनियन सुनसरी र नेपाल निजामती कर्मचारी युनियन इटहरी कमिटीले संयुक्त विज्ञप्ति सार्वजनिक गरी उपप्रमुख चौधरीलाई आत्मआलोचना गर्न र ताला खोल्न ४८ घण्टे अल्टिमेटम दिएका थिए। प्रमुख पौडेलले उक्त विज्ञप्ति बुझ्दै आफूले सो समयभित्र विवाद समाधान गर्ने उल्लेख गरेका थिए। तर विवाद समाधान हुने भन्दा पनि विवाद झनै उत्कर्षमा पुगेको छ। प्रमुख पौडेल कांग्रेसबाट निर्वाचित हुन्।

इटहरीको कार्यपालिका र नगरसभामा एमालेको बहुमत छ। प्रमुख पौडेलले एकलौटी गरेको भन्दै पटकपटक एमाले र कांग्रेसबीच टकराव हुँदा नगरका प्रमुख योजनाहरू लथालिंग छन्

प्रकाशित: २४ माघ २०८१ ९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast