बन्दले पूर्वको जनजीवन दिनभर प्रभावित, १४ जना पक्राउ

विवेक विवश रेग्मी २० माघ २०८१ २०:५३
14
SHARES
बन्दले पूर्वको जनजीवन दिनभर प्रभावित, १४ जना पक्राउ

इटहरी- पूर्वका ९ जिल्लामा आइतबार दिनभर यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ। ताप्लेजुङको पाथिभरामा केबलकार बनाउन नहुने माग राख्दै सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्द गरिएको हो। बन्दका कारण दिनभर जनजीवन प्रभावित बन्यो।

‘नो केबलकार’ समूहले सवारी साधन बन्द गराएका थिए। आन्दोलनमा उत्रिएका १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इटहरी–धरान सडकखण्डस्थित चारकोसे क्षेत्रको सेउती पुल नजिकैबाट ६ जना र झापाको दमकबाट ८ जनालाई पक्राउ गरिएको हो। झापाको दमकबाट पदम बेघा, धनकुमार योङहाङ र शुक्र लिम्बूसहित आठ जनालाई पक्राउ गर्नुका साथै प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको थियो।

दमक-६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब एक सय जनाले टायर बालेर सडक अवरोध गर्न खोजेपछि प्रहरीले उनीहरूलाई हटाउन बल प्रयोग गरेको हो। त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा हानेका थिए। ढुंगा प्रहारबाट मे १ च ५१६१ नम्बरको स्कोरपिओमा क्षतिसमेत पुगेको छ। सो क्रममा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समितिलगायत संघसंस्था उभिएका छन्।

केबलकार खारेजी संयुक्त संरक्षण समितिका संयोजक खगेन्द्र फेम्बूले राज्य सत्ताको हस्तक्षेप बढेको बताए। खास गरी आइतबार कोशी प्रदेशको सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, संखुवासभा र तेह्रथुमका विभिन्न ठाउँमा ‘नो कबलकार संयुक्त संघर्ष समिति’को अगुवाइमा प्ले कार्डसहितको नारा जुलुस प्रदर्शन गरिएको थियो।

प्रदर्शनकारीले पाथिभरा मुकुम्लुङ संरक्षण प्रेमीमाथि गोली चलाउन पाइँदैन, असक्षम गृहमन्त्री राजीनामा देऊ, धार्मिक क्षेत्रलाई व्यापारीकरण गर्न पाइँदैन जस्ता प्ले कार्ड बोकेर विरोध जनाएका थिए। गत माघ १२ गते केबलकार खारेजीको आन्दोलनरत पक्षमा रहेकाहरू पाथीभरा क्षेत्रमा आन्दोलनमा उत्रिएका थिए। बलुडाँडामा शनिबार दुईपटक भएको झडपमा २६ जना घाइते भएका थिए।

आन्दोलनरत समूहलाई सशस्त्र प्रहरीले गोली चलाएको विरोधमा माघ १५ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा यातायात अवरुद्ध गर्दै आएको समूहले पछिल्लो पटक भएको झडपमा घाइते भएकाहरूको उपचार तथा पक्राउ परेकाहरूलाई रिहाइको माग राखेका छन्। साथै पाथिभरा क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गरी केबलकार निर्माण प्रक्रिया स्थगित गर्न माग गर्दै बन्दको आह्वान गरिएको हो।

माघ २२ गते सम्ममा पनि सरकारले मागको सम्बोधन नगरे आम हड्ताल गर्ने तयारी भइरहेको फेम्बूले जानकारी दिए। निजी क्षेत्रको स्वार्थमा सरकारले प्रहरी, प्रशासनको दुरूपयोग गरेको आरोपसमेत लगाइएको छ।

खास गरी आममानिसको आस्थाको धरोहरमाथि हस्तक्षेप भइरहेको स्थानीय बासिन्दाको तर्क छ। सांस्कृतिक आस्थाको धरोहरमाथि हस्तक्षेप भएकाले २०७४ सालदेखि नै आफूहरूले विरोध जनाउँदै आएको केबलकार खारेजी संयुक्त संरक्षण समितिका संयोजक फेम्बूले बताए। ‘स्थानीयवासीको रोजीरोटीको विनाश हुँदैछ। प्राकृतिक स्रोतसाधनको पनि संरक्षण गर्नुपर्छ,’ फेम्बूले भने, ‘यहाँ केबलकार बन्नु भनेको विकास होइन, विनाश हो।’

यसैबीच आइतबार साँझदेखि भने सुनसरी, मोरङ, झापा र धनकुटालगायतका जिल्लामा भने सवारी साधन सञ्चालनमा आएसँगै जनजीवन सामान्य बनेको छ।

प्रकाशित: २० माघ २०८१ २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast