काठमाडौँ- ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्चको फैसला कार्यान्वयन गराउन आन्दोलनलाई निरन्तरता दिने भएको छ। बिगेसोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ब्रिटिस गोर्खा सैनिक भर्तीसम्बन्धी सम्झौता अन्यायपूर्ण भएको ठम्याएको हो।
त्यसलाई सुधार्न सर्वोच्चले दिएको निर्देशनात्मक आदेश कार्यान्वयन गराउन आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष पदमसुन्दर लिम्बूले बताए।
ब्रिटिस गोर्खा सैनिकहरुको पक्षमा २४ माघ २०७९ सालमा सर्वोच्च अदालतले गरेको फैसला सरकारले कार्यान्वयन नगरेको आरोप बिगेसोको छ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट ताकेतापत्र पठाउँदा पनि आदेश कार्यान्वयन नगरेकाले निरन्तर प्रदर्शन गर्ने निर्णय भएको लिम्बूले बताए।
सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौताअन्तर्गत भर्ती भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बिगेसोले संघर्ष गर्दै आएको छ। बिगेसोले आफ्ना मागबारे ध्यानाकर्षण गराउन काठमाडौँमा लालटिन प्रदर्शन गर्ने भएको छ।