काठमाडौँ– भारतको उत्तर प्रदेश सरकारद्वारा आयोजित भव्य महाकुम्भले अहिले विश्वको ध्यान आकर्षित गरिरहेको छ।
यसैअन्तर्गत बिहीबार विभिन्न १० देशका प्रतिनिधि सम्मिलित २१ सदस्यीय प्रतिनिधिमण्डलले प्रयागराजको संगमको भ्रमण गरेका छन्।
गुयानाका दिनेश पर्साउदले एएनआईसँग कुरा गर्दै गंगा नदीमा पवित्र स्नान गरेपछि आफ्नो खुशी र सन्तुष्टि व्यक्त गरे। ‘मेरो सपना साकार भएको छ। म सधैँ यहाँ आएर गंगा नदीमा पवित्र स्नान गर्न चाहन्थेँ। मैले त्यो इच्छा पूरा गरेको छु।’
पर्साउदले अरूलाई कुम्भ मेलामा भाग लिन आग्रह गरे। ‘म यहाँ आउनेहरूलाई पवित्र गंगा नदीमा स्नान गर्न आग्रह गर्दछु,’ उहाँले भने।
संयुक्त अरब इमिरेट्सका साली अल अजब विश्वको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम कुम्भ मेलाको अनुभव लिन प्रयागराज पुगेका धेरै अन्तर्राष्ट्रिय तीर्थयात्रीहरूमध्ये एक हुन्।
अल अजबले कार्यक्रमको आयोजनाको प्रशंसा गर्दै भने, ‘म मध्य पूर्वबाट भारत आएको छु। यो संसारको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम हो। यहाँ सबै कुरा राम्रोसँग आयोजना गरिएको छ। सुरक्षाका लागि प्रहरी तैनाथ छ। सरकारले राम्रो व्यवस्था गरेको छ।’
भारत सरकारको विदेश मन्त्रालयको विदेश प्रचार तथा सार्वजनिक कूटनीति महाशाखाले निमन्त्रणा गरेको प्रतिनिधिमण्डल बुधबार भारत आइपुगेको हो।
उत्तर प्रदेश राज्य पर्यटन विकास निगमले विकसित गरेको टेन्ट सिटीमा प्रतिनिधिमण्डलको बसाइको व्यवस्था गरेको छ।
अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलमा फिजी, फिनल्याण्ड, गुयाना, मलेसिया, मौरिसस, सिंगापुर, दक्षिण अफ्रिका, श्रीलंका, ट्रिनिडाड एण्ड टोबागो र संयुक्त अरब इमिरेट्स (युएई) का प्रतिनिधि सहभागी छन्।
पैँतालिस दिनसम्म चल्ने महाकुम्भको चौथो दिन बिहीबार त्रिवेणी संगममा हजारौं भक्तजनले पवित्र स्नान गरेका छन्।
विश्वको सबैभन्दा ठूलो धार्मिक मण्डलीमा छ करोडभन्दा बढी भक्तजन सहभागी भएका छन्। यसैबीच, तीर्थयात्रीहरूको ठूलो भीडलाई ध्यानमा राख्दै प्रयागराज प्रशासनले एआई–आधारित कम्प्युटराइज्ड खोज केन्द्र स्थापना गरेको छ।
जनवरी १३ गतेबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ गतेसम्म चल्ने छ। – रासस