शिक्षक नेताहरूसँग गगन थापाले भने : संसद्को हिउँदे अधिवेशनबाट शिक्षा विधेयक पारित हुन्छ

हिमाल प्रेस १ माघ २०८१ १५:५१ | Tuesday, January 14, 2025
शिक्षक नेताहरूसँग गगन थापाले भने : संसद्को हिउँदे अधिवेशनबाट शिक्षा विधेयक पारित हुन्छ

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक–२०८० पारित हुने बताएका छन्।

शिक्षासम्बद्ध संघसंगठनका प्रतिनिधिहरूसँगको भेटमा प्रतिनिधिसभा सदस्यससमेत रहेका थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विधेयक हिउँदे अधिवेशनबाट पारित हुने बताएका हुन्।

महामन्त्री थापाले भने, ‘प्रस्तावित शिक्षा विधेयक यसै हिउँदे अधिवेशनबाट पास हुन्छ, ढुक्क हुनुहोस्। शिक्षकको पक्षमा एक आउँछ, दुई आउँछ, तीन आउँछ शिक्षा ऐन। शिक्षक महासंघ, शिक्षक संघलगायत सबै संघसंगठनको कार्यक्रममा गएर भन्नुहोस्।’

नयाँ बन्ने शिक्षा ऐनमा शिक्षक कर्मचारीका मागमुद्दा समेटिनुपर्ने भन्दै नेपाल शिक्षक संघ राष्ट्रिय समितिका अध्यक्ष सोमनाथ गिरी, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, उपाध्यक्ष त्रय वीरेन्द्र खड्का, सुन्दर पन्त, लक्ष्मी रेग्मी, महासचिव ज्ञानेन्द्र रावल, उपमहासचिव नारायण तिमिल्सिना र महासंघका राष्ट्रिय समिति सदस्य कुमार बजगाईं थापालाई भेट्न उनको निवास रातोपुल भेट्न पुगेका थिए।

शिक्षा समितिमा विधेयकमाथि दफावार छलफल अन्तिम अन्तिममा पुग्दा शिक्षक नेताहरूले राजनीतिक दल, सांसद, मन्त्रीको लगातार ध्यानाकर्षण गराएका छन्।

मंगलबार नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको ध्यानाकर्षण गराउँदै आफूहरूका माग समेटेर ऐन जारी गर्न ध्यानाकर्षण गरायो।

आइतबार नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिका पूर्वअध्यक्ष र संरक्षक खेमराज अधिकारी, पूर्वमहासचिव र संरक्षक कुमार बजगाईँले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल, नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक भगवती न्यौपाने, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई भेटेका थिए।

सरकारले पटकपटक अस्थायी प्रकृतिका शिक्षकसँग गरेका सहमति अक्षरसः कार्यान्वयन र ऐन जारी हुनुपर्नेप्रति ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: १ माघ २०८१ १५:५१ | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast