बागमती गोल्डकप फुटबल फागुनमा

हिमाल प्रेस २८ पुष २०८१ २०:०३ | Sunday, January 12, 2025
बागमती गोल्डकप फुटबल फागुनमा

हेटौँडा- सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ। उक्त प्रतियोगिता बागमती गाउँपालिकामा निर्मित सहिद स्मृति रंगशालामा सञ्चालन हुनेछ।

बागमती गाउँपालिका खेलकुद विकास समितिले आज (आइतबार) यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म बागमती-४ झुरझेस्थित रंगशालामा हुने जानकारी दिइयो।

यसअघि उक्त प्रतियोगिता जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो। प्रतियोगितामा पहिलो हुने टोलीले १० लाख र दोस्रो हुनेले पाँच लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए।

प्रतियोगितामा ‘ए’ डिभिजनका सात र मोफसलका तीन टोली सहभागी हुनेछन्। प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार पुरस्कार प्रदान गरिने छ।

फुटबल खेलको प्रवर्द्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालन गर्ने योजना बनाएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए। यसअघि छैटौँ संस्करणको उपाधि मछेन्द्र युथ क्लब काठमाडौँले जितेको थियो। प्रतियोगिता सञ्चालन गर्न गाउँपालिकाले ३० लाख रूपैयाँ सहयोग गरेको छ।

प्रकाशित: २८ पुष २०८१ २०:०३ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast