ग्रीसमा महँगीविरूद्ध शिक्षक र विद्यार्थीको प्रदर्शन

हिमाल प्रेस ४ कार्तिक २०८३ १८:२९ | Wednesday, October 21, 2026
2
SHARE
ग्रीसमा महँगीविरूद्ध शिक्षक र विद्यार्थीको प्रदर्शन
काठमाडौँ- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
युरोपभर बढ्दो महँगीविरुद्ध विरोध प्रदर्शन भइरहेका बेला ग्रीसका अन्य सहरमा पनि विद्यार्थी र शिक्षकले जुलुस निकालेका छन्।

उत्तरी सहर थेसालोनिकी र पश्चिमी बन्दरगाह सहर पात्रासमा समेत प्रदर्शन भएको छ।

इन्धनको मूल्यवृद्धि, महँगो आवास, विद्यालयहरूको कमजोर अवस्था र शिक्षामा पर्याप्त सरकारी लगानी नहुँदा विद्यार्थी तथा शिक्षकहरू आन्दोलित भएका हुन्।

फ्रान्स, इटाली र अल्बानियालगायतका देशमा पनि यस्तै प्रदर्शन भएका छन्, जहाँ केही स्थानमा हिंसा भड्किएको छ।

एथेन्समा प्रदर्शनकारीहरूले ‘ग्रीसदेखि फ्रान्ससम्म, शिक्षामा लगानी बढाऊ’ भन्ने नारासहितका ब्यानर बोकेका थिए। केहीले ‘पढ्ने कि बाँच्ने?’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

बीस वर्षीय इन्जिनियरिङ विद्यार्थी पानागियोटिस मोस्कोनासले जीवनयापनको बढ्दो लागतबाट प्रभावित विद्यार्थीलाई सरकारले पर्याप्त सहयोग नगरेको भन्दै आलोचना गरे।

सरकारले घोषणा गरेको मासिक १२० युरोको भाडा अनुदान आधा भाडा तिर्नसमेत पर्याप्त नहुने र उक्त रकम वर्षको अन्त्यमा मात्र उपलब्ध हुने उनले बताए।

प्रदर्शनका क्रममा दंगा नियन्त्रण प्रहरी परिचालन गरिएको थियो। प्रहरीले प्रदर्शनस्थलतर्फ जाने व्यक्तिहरूको जाँच तथा झोला खानतलासी गरेको थियो।

ग्रीसमा विगतका प्रदर्शन हिंसात्मक बन्ने गरेका कारण जुलुस मार्गमा पर्ने पसल तथा क्याफेहरूले आफ्ना झ्यालको सुरक्षाका लागि स्टिलका सटर बन्द गरेका थिए।

यसैबीच, शिक्षकहरूले बुधबार हडताल गरेका छन्। हडतालका कारण केही विद्यालय प्रभावित भए पनि केही विद्यालय भने सञ्चालनमा रहेका थिए।

शिक्षक इओनिस रोम्पसले परिवारको दैनिक खर्च धान्न कठिन हुँदै गएको र विद्यालयको अवस्था वर्षैपिच्छे बिग्रँदै गएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

उच्च मूल्यवृद्धि र आर्थिक दबाबका कारण शिक्षकहरू हडतालमा उत्रिन बाध्य भएको उनले बताए।

प्रदर्शनकारीहरूले विद्यार्थीका लागि किफायती आवासको व्यवस्था, शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि तथा बढ्दो महँगीबाट राहत दिन प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।-रासस/एपी

प्रकाशित: ४ कार्तिक २०८३ १८:२९ | Wednesday, October 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast