सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री

हिमाल प्रेस १४ पुष २०८१ १८:५२
6
SHARES
सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन्।

नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए।

‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन्। मौरीको संगत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ। झिँगाको संगत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ। तपाईंहरुको एमालेमा आउने छनोट सही छ। तपाईंहरु नमूना हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ। हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ। हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ। युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ।’

प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्नपर्ने नभई कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवनयापन गर्न आग्रह गरे।

कार्यक्रममा नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायतका युवाहरु एमालेमा प्रवेश गरेका थिए। सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’ का विजेता विभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत एमालेमा प्रवेश गरेका थिए। पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने संकल्प बोकेकाले यस अभियानमा आफूहरु सारथि बन्ने उल्लेख गरे।

कार्यक्रममा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल, संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, जनसंगठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थित थिए।

प्रकाशित: १४ पुष २०८१ १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast