काठमाडौँ गुर्खाजले पोखरा एभेन्जर्सलाई सजिलै हरायो

हिमाल प्रेस २९ मंसिर २०८१ १२:०७
14
SHARES
काठमाडौँ गुर्खाजले पोखरा एभेन्जर्सलाई सजिलै हरायो

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजको प्लेअफ पुग्ने सम्भवना बलियो बन्दै गएको छ। शनिबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले सजिलै पराजित गरेपछि काठमाडौँको सम्भावना बढेको हो।

काठमाडौँले अन्तिम खेलअघि ६ अंक जोडेको छ भने पाँचौ स्थानमा उक्लिएको छ। अब उसले अन्तिम खेलमा विराटनगर किंग्सलाई पराजति गरे प्लेअफमा पुग्ने सम्भावना हुनेछ। आज पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य काठमाडौँले ४ विकेटको क्षतिमा १४.१ ओभरमा पूरा गर्‍यो।

काठमाडौँका लागि ओपनर स्टेफन इस्किनाजीले ३४ बलमा १० चौका प्रहार गर्दै ६० रन जोडे। अर्का ओपनर माइकल लेभिटले १८ बलमा ३२ रन बनाए। भीम सार्की २२ रनमा आउट भए भने इरासमसले नटआउट २५ रन बनाए।

बलिङमा पोखराका विपिन खत्रीले ३ विकेट लिए। उनले ३ ओभरमा १९ रन खर्चिए। टस जितेको काठमाडौँले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ८ विकेटको क्षतिमा १३८ रन जोड्यो।

पोखराका लागि रेमन्ड रेइफरले नटआउट ४१ रन जोडे। अन्तिम ओभरमा १७ रन प्रहार गरेका उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे। पोखराका ओपनर दिनेश खरेलले ३८ रनको योगदान गरे। छैटौँ ओभरमा रशिद खानलाई लगातार चार चौका प्रहार गरेपछि उनी अन्तिम बलमा आउट भएका थिए। उनले २५ बल खेलेर ६ चौका र १ छक्का प्रहार गरे।

अर्का ओपनर आन्द्रेस गौस भने शून्यमाआउट भए। उनलाई दोस्रो ओभरमा गेरार्ल्ड इरासमसले माइकल लेभिटबाट क्याच गराए। कप्तान कुशल भुर्तेल ७ रन र दिलीप नाथ २७ रन जोडेर आउट भए। दुवैलाई रशिद खानले बोल्ड गरेका थिए।

आकर्षित गोमेल ८ रनमा लेभिटको एलबिडब्लूको धरापमा पर्दा माइल लिस्क पनि करण केसीबाट १ रनमै एलबिडब्लू आउट भए। करण केसीले नारायण जोशीलाई पनि रशिद खानबाट क्याच गराउँदा डकआउटको सिकार बनाए। बलिङमा काठमाडौँका रशिद खान र करण केसीले ३/३ विकेट लिए। करणले ४ ओभरमा २४ रन दिँदा रशिदले ४३ रन खर्चिए।

प्रकाशित: २९ मंसिर २०८१ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast