काठमाडौँ- जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध १६२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङका लागि आएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनायो।
चितवन एक समय ५.२ ओभरमा ३–४६ को अवस्थामा थियो। चौथो विकेटका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गरे। रवि ५१ रन बनाउँदै क्याच आउट भए। ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका रवि रेमोन रेइफरको बलमा क्याच आउट हुन पुगे।
कप्तान मल्ल ३८ रन बनाउँदा सागर ढकालको बलमा कुशल भुर्तेलको हातबाट आउट भए। मल्लले २३ बलमा १ चौका र ४ छक्का प्रहार गरे। लुक वेनकेन्स्टाइन १६ रन बनाउँदा बास डे लिडको बलमा आउट भए। ओपनर दिपक बोहोरा २ रन बनाउँदा विपिन खत्रीको बलमा बोल्ड आउट भए।
अर्का ओपनर हसन इसाखिल १४ रन बनाउँदा विपिन कै बलमा क्याच आउट भए। सोहेल तनविर गोल्डेन डकआउट भए। सन्तोष कार्की १० रन थप्दै आउट भए। पोखराका लागि विपिन खत्री, बास डे लिड र रेमोन रेइफरले समान दुई विकेट लिए। सागर ढकालले एक विकेट लिए।