एनपीएल इलिमिनेटरको खेल आज : काठमाडौँ र चितवन भिड्दै, कुन टोली बाहिरिएला?

हिमाल प्रेस २ मंसिर २०८३ ७:०२ | Wednesday, November 18, 2026
एनपीएल इलिमिनेटरको खेल आज : काठमाडौँ र चितवन भिड्दै, कुन टोली बाहिरिएला?

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:३० बजे सुरु हुनेछ ।

लिग चरणको अंकतालिकामा तेस्रो स्थानमा रहेको काठमाडौँ र चौथो स्थानमा रहेको चितवनबीचको यो खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा छ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।

इलिमिनेटर विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरको विजेताले शनिबार उपाधिका लागि फाइनल खेल्ने तालिका छ ।

लिग चरणका ७ खेलमा ४ जित र ३ हारसहित ८ अंक जोडेर काठमाडौँ तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । सुरुवाती खेलहरूमा लगातार तीन जित निकाल्दै उत्कृष्ट लयमा देखिएको काठमान्डुले पछिल्ला दुई खेलमा भने हार बेहोरेको थियो ।

अर्कोतर्फ, ७ खेलमध्ये ३ जित, ३ हार र १ खेलमा नतिजाविहीन हुँदै अंक बाँडेर ७ अंक जोडेको चितवन चौथो स्थानमा रहेर इलिमिनेटरमा स्थान बनाउन सफल भएको हो । चितवन काठमान्डुलाई पराजित गर्दै उपाधि यात्रा जीवितै राख्ने दाउमा छ ।

आठ टोली सहभागी लिग चरणबाट ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेलेका थिए ।

पहिलो क्वालिफायरमा विजयी लुम्बिनी फाइनल पुगिसकेको छ । ६ अंक जोडेका विराटनगर किङ्स र कर्णाली याक्स तथा समान ४ अंकमा सीमित पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिसकेका छन्।

प्रकाशित: २ मंसिर २०८३ ७:०२ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast