काठमाडौँ- नेपालमै पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) अहिले काठमाडौँमा जारी छ। नेपाली क्रिकेटको महाकुम्भका रूपमा लिइएको यो खेल आउँदो पुस ६ गतेसम्म चल्नेछ।
पुस ६ अर्थात डिसेम्बर २१ मा यसको फाइनल खेलबाट पहिलो विजेता चुनिनेछ। क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले आयोजना गरेको यो प्रतियोगितामा ८ टिम सहभागी छन्।
उनीहरू एकअर्काबीच प्रतिस्पर्धा पहिलो चरणमा हुनेछ। एक टिमले जित्दा २ अंक प्राप्त गर्छ। समूह चरणमा एक टिमले ७ खेल खेल्न पाउनेछ। यो लिग चरण पछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्।
जहाँ पहिलो र दोस्रो हुने टिमबीच क्वालिफायर वान हुनेछ। यस खेलको विजेता सिधै फाइनल पुग्नेछ। यस्तै तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर हुनेछ।
एलिमिनेटरमा पराजित हुने टोली बाहिरिनेछ भने एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। यसको विजेता फाइनल पुग्नेछ। विजेताले एक करोड ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ।
उपविजेतालाई ५० लाख रुपैयाँ प्रदान गरिनेछ। यस्तै तेस्रोलाई ३० लाख र चौथो हुने टोलीलाई २० लाख रुपैयाँ प्रदान गरिनेछ। यो प्रतियोगिता काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा मात्र हुनेछ। प्रतिगोगिताभर ३२ खेल हुनेछन्। खेलको सर्वोत्कृष्ट खेलाडीले गाडी पाउनेछ। १५ देशका ४० जना विदेशी खेलाडीहरू एनपीएलका लागि अनुबन्धित छन्।