जम्बो टोली चीन जाँदा पनि परेनन् आरजुबाहेकका मन्त्री, जानकार भन्छन्,‘नौलो अभ्यास’

हिमाल प्रेस १५ मंसिर २०८१ ९:०७
16
SHARES
जम्बो टोली चीन जाँदा पनि परेनन् आरजुबाहेकका मन्त्री, जानकार भन्छन्,‘नौलो अभ्यास’ प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण टोलीमा परराष्ट्रमन्त्रीबाहेक कुनै पनि मन्त्रिपरिषद् सदस्य समावेश नहुने परराष्ट्र मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

सरकारका प्रवक्ता र अर्का एक जना मन्त्रीले प्रधानमन्त्रीको भ्रमणका क्रममा कुनै मन्त्रालयसँग सम्बन्धित परियोजनामा सम्झौता हुने निश्चित नभएका कारण अरू मन्त्रीहरू भ्रमणदलमा समावेश नगरिएको बताएका छन्।

यसलाई कतिपयले नौलो अभ्यास मानेका छन्। अघिल्लो वर्ष सेप्टेम्बरमा चीन भ्रमणमा गएका यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र खानेपानीमन्त्री महिन्द्र राय यादव पनि सँगै गएका थिए।

यसअघि सन् २०१८ जुनमा प्रधानमन्त्री भएका समयमा ओलीको भ्रमणका क्रममा परराष्ट्रसँगै तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि सँगै थिए।

सन् २०१६ मार्चमा चीन भ्रमणका गएका समयमा ‌ओलीले तत्कालीन अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि सँगै लिएर गएका थिए। किन मन्त्रीहरूलाई समावेश गरिएन?

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा कुनै निश्चित परियोजनामा लगानी सम्झौता हुने सम्भावना न्यून रहेको बताएका छन्।

यद्यपि केही वर्षअघि नै सम्झौता भएका तर हालसम्म कार्यान्वयनमा जान नसकेका परियोजनाहरूबारे छलफल हुने गुरुङको भनाइ छ।

‘यो पटक कुनै नयाँ आयोजनाबारे हस्ताक्षर हुने सम्भावना कम छ तर यसअघिकै सम्झौताहरू कार्यान्वयनमा सहमति हुन्छ,’ गुरुङले भने।

उक्त बैठकमा अरू मन्त्रीहरू भ्रमणमा जाने वा नजानेबारे पनि छलफल भएको विवरण आएका थिए।

बीबीसीको जिज्ञासामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विषयगत मन्त्रीहरूको आवश्यकता नदेखिएका कारण प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नगराइएको बताए।

ओली ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाने भएका छन्।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ८७ सदस्यीय टोलीको चीन भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री ओली यही १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन्। उनको भ्रमणसम्बन्धी आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणा बिहीबार चीन पुगेकी छन्।

प्रधानमन्त्री ओलीको भ्रमण मंसिर १७ देखि २० गतेसम्म हुनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जनाको संख्या रहेको जानकारी दिएका छन्। बीबीसीबाट

प्रकाशित: १५ मंसिर २०८१ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast