यस्तो छ एनपीएलको ट्रफीमा कालापत्थरको ढुंगा राख्नुको कारण

हिमाल प्रेस १० मंसिर २०८१ १३:००
50
SHARES
यस्तो छ एनपीएलको ट्रफीमा कालापत्थरको ढुंगा राख्नुको कारण

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सर्वाजनिक गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफीमा रहेको ढुंगा अहिले सामाजिक सञ्जालमा विषय बनेको छ। क्यानका अनुसार ट्रफीमा सगरमाथा क्षेत्रस्थित कालापत्थरको ढुंगा राखिएको हो। क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदाको संरक्षण र प्रर्वधन गर्न सन्देश दिँदै ट्रफीमा ढुंगा राखिएको प्रष्ट पारे।

‘सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याइएको ढुंगा ट्रफीको मुख्य आकर्षण हो। यसले नेपालको प्राकृतिक सम्पदाको संरक्षण र प्रर्वधन गर्दै पर्यटनमा सहयोग पूर्याउने आशा राखेका छौँ,’ ट्रफी सार्वजनिक कार्यक्रममा सचिव खड्काले भने।

निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थर क्षेत्रबाट उक्त ढुंगा ल्याएका हुन्। क्यानका सचिव खड्काले उक्त पत्थर ल्याउन सहयोग गरेकोमा यी दुवै पर्वतारोहीप्रति धन्यवाद व्यक्त गरे। ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानको अध्यक्ष चतुरबहादुर चन्दसँगै आठ वटै टिमका मार्की खेलाडीको उपस्थिती थियो।

प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि क्यानले भारतीय टेलिभिजन स्टार स्पोर्टससँग सम्झौता गरेको छ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। लिगमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने छन्।

प्रकाशित: १० मंसिर २०८१ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast