काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुन सुन्दर लावतीले पाँचथरका बाढीपहिरो पीडितहरूलाई राहत सहयोग हस्तान्तरण गरेका छन्।
गत असोज ९ र १२ गतेको अविरल वर्षापछि आएको पहिरोमा ज्यान गुमाएका नरबहादुर चेम्जोङ र बेपत्ता भएकी सञ्चरानी चेम्जोङका परिवारजनलाई नेता लावतीले फाक्तेप वडा कार्यालयमा सहयोग रकम प्रदान गरेका हुन्। दुबै पीडित फाल्गुनन्द गाउँपालिका वडा नं ५ फाक्तेपका निवासी थिए।
लावतीले यसअघि पनि महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसरमा प्राकृतिक प्रकोपमा ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिका परिवारजनलाई सहयोग गरेको लवतीले जानकारी दिए। राहत प्राप्त गर्ने अन्य व्यक्तिहरूमा थुममाया तुम्बापो, सरसता तुम्बापो, गोपी विक, रन्जना राई, प्रेमवि शेर्पा र डोल्मा शेर्पाका आफन्त थिए।
लावतीले बाढीपहिरो पीडितहरूका लागि आफूले बुढानीलकण्ठ स्कूलका सहपाठी भूतपूर्व विद्यार्थीहरू र अन्य सहयोगीहरूबाट प्राप्त सहयोग हस्तान्तरण गरेको बताए। पाँचथरमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको थियो। तीनवटा पुल बगाएको, सडक, विद्युत् र खानेपानी संरचना क्षति भई सेवा अवरुद्ध भएको थियो भने १२० वटा घर पूर्ण रूपमा र ३०३ घर आंशिक रूपमा क्षति भएका थिए। साथै, कराडौं रुपैयाँ बराबरको अन्नबाली र धनमालको क्षति भएको थियो।
लावतीले प्राकृतिक प्रकोपका बेला एकआपसमा सहयोग र एकताको भावना महत्वपूर्ण रहेको बताउँदै भविष्यमा यस्ता विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए। स्थानीय जनप्रतिनिधिहरूले पनि सहयोग वितरणको प्रशंसा गर्दै राहतले पीडित परिवारलाई केही हदसम्म सहारा मिल्ने विश्वास व्यक्त गरेका छन्।
फालेलुङ न्युजबाट साभार