काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण लोकप्रिय खेलकुद टीभी च्यानल स्टार स्पोर्ट्समा हुने भएको छ।
नोभेम्बर ३० तारिख दिन काठमाडौँमा सुरू हुन लागेको एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्ने भएको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको प्रत्यक्ष प्रसारणका लागि स्टार स्पोर्ट्स आधिकारिक प्रसारण साझेदार भएको जनाएको छ।
‘हामी स्टार स्पोर्ट्सलाई नेपाल प्रिमियर लिगको आधिकारिक प्रसारण साझेदारको रूपमा घोषणा गर्न पाउँदा हर्षित छौँ,’ क्यानले भनेको छ।
एनपीएलमा विराटननगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टिम सहभागी छन्।
एनपीएलमा सहभागी टिमहरूले यसअघि नै चर्चित खेलाडीहरू शिखर धवन (भारत), रवि बोपारा (इंग्ल्यान्ड), क्याडविक वाल्टन (वेस्टइन्डिज), मार्टिन गुप्टील (न्युजिल्यान्ड), जेम्स नीसम (न्यूजिल्यान्ड) र रेमन हैफर (वेस्टइन्डिज) सँग अनुबन्ध गरिसकेका छन्।
एनपीएल आगामी ३० नोभेम्बरदेखि डिसेम्बर २१ सम्म काठमाडौँमा सञ्चालन हुनेछ।