सरकारका काम प्रभावकारी बनाउन कांग्रेस-एमालेले गठन गरे संयन्त्र

हिमाल प्रेस २१ कार्तिक २०८१ १७:४७ | Wednesday, November 6, 2024
सरकारका काम प्रभावकारी बनाउन कांग्रेस-एमालेले गठन गरे संयन्त्र

काठमाडौँ- सरकार सञ्चालनमा सहजीकरण गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले संयन्त्र गठन गरेका छन्। तीनै तहका सरकार सञ्चालनमा सहजीकरण गर्ने गरी संयन्त्र गठन भएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

दुई दलका तर्फबाट चार–चारजना सदस्य रहने गरी गत सोमबार गठन गरिएको संयन्त्रलाई संघीय सरकार सञ्चालनमा समन्वय गर्ने जिम्मेवारी दिइएको गौतमको भनाइ छ। संययन्त्रमा दुवै पार्टीका पदाधिकारी तहका नेताहरू छन्।

संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखक सदस्य छन्।

एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल सदस्य छन्।

सरकारलाई व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्रले काम गर्ने बताइएको छ। प्रदेशमा पनि दुवै दलका तीन–तीनजना सदस्य रहने गरी ६ सदस्यीय संयन्त्र गठन गरिने बताइएको छ। दुई दलबीच जिल्ला तहमा समेत दुई–दुईजना सदस्य रहने गरी संयन्त्र बनाउने समझदारी भएको छ।

अहिले संघीय सरकारमा कांग्रेस-एमालेसहितको गठबन्धनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छन्। त्यस्तै प्रदेशमा पनि यी दुई दलसहित केही साना दलले आलोपालो गर्ने गरी नेतृत्व गरिरहेका छन्।

प्रकाशित: २१ कार्तिक २०८१ १७:४७ | Wednesday, November 6, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast