चाडबाडका लागि भित्रियो ३२ करोडको नरिवल

हिमाल प्रेस १३ कार्तिक २०८१ २१:०३ | Tuesday, October 29, 2024
चाडबाडका लागि भित्रियो ३२ करोडको नरिवल

काठमाडौँ- चालु आर्थिक वर्षको तीन महिनामा चाडबाड लक्षित ३२ करोड ९ लाख रूपैयाँको नरिवल भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात भएको हो।

भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा करिब एक अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रिएको जानकारी दिए। भारत र चीनलगायत देशबाट नरिवलसँगै, काजु, अलमण्ड, पिस्ता, सुपारी, छोकडा, अन्जिर र किसमिस पनि भित्रिएको उनले बताए।

विभागका तथ्यांकअनुसार २६ करोड दुई लाखको दुई लाख ९८ हजार नौ सय ४६ केजी काजु, १८ करोड ६० लाखको दुई लाख ३२ हजार ६ सय ९३ केजी अलमण्ड आयत भएको छ। २० करोड ९८ लाखको ६ लाख सात हजार दुई सय २५ केजी ओखर आयात भएको छ।

यस्तै पिस्ता १२ हजार सात सय ७७ केजी १ करोड ४५ लाखमा,  २१ करोड ६२ लाखमा १७ लाख १४ हजार चार सय १९ केजी सुपारी, एक करोड ३० लाखमा एक लाख २४ हजार एक सय ७७ केजी खजुर यात भएको छ। ४१ हजार पाँच सय ५० केजी अंजिर दुई करोड ६५ लाख, तीन लाख २४ हजार छ सय ७५ केजी किसमिस १० करोड ६२ लाखमा आयात गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। यस्तै चार करोड ७४ लाख मूल्यमा दीपावलीमा प्रयोग गरिने विभिन्न किसिमका बत्ती आयात भएका छन्।

विभागका अनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा अलमण्ड र ओखरको आयात कम भएको छ। तुलनात्मक रूपमा बदामको आयात सात प्रतिशतले कम छ। यस्तै ओखर ४४ दशमलव ६ प्रतिशतले कम आयात भएको छ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष बत्तीको आयात ५८ प्रतिशतले कम भएको तथ्यांकले देखाउँछ। अघिल्लो वर्ष तीन महिनामा सात लाख ७८ हजार पाँच सय ८२ थान बत्ती नौ करोड ८४ लाख मूल्यमा आयात भएको थियो।

प्रकाशित: १३ कार्तिक २०८१ २१:०३ | Tuesday, October 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast