वायुसेवा निगमले भन्यो : तीनवटै विमान उडानमा छन्

हिमाल प्रेस ४ कार्तिक २०८१ २१:१६ | Sunday, October 20, 2024
वायुसेवा निगमले भन्यो : तीनवटै विमान उडानमा छन् फाइल तस्बिर

काठमाडौँ– नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएको जनाएको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुईवटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका छन्।

एउटा ‘वाइडबडी’ विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाडौँ ल्याएर तत्काल मर्मतकार्य सकेर आइतबार बेलुकीबाट उडानमा ल्याइएको उनले जानकारी दिए।

‘शनिबार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी विमान नियमित उडानमा रहेका छन्। एउटा वाइडबडी विमान पनि मर्मतपछि आजैबाट उडानमा आएको छ। आज बेलुका दोहाका लागि उडान भरेर भोलि सोमबार विमान जापान उडान भर्ने तालिका रहेको छ,’ प्रवक्ता पौडेलले भने।

निगमले विमान विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकाले निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्डअनुरूप निगमका विमान नियमित मर्मतसम्भार गर्ने गरिएको विज्ञप्तिमार्फत जनाएको छ।

‘यसका बाबजुत कहिलेकाहीँ विमानमा आकस्मिक प्राविधिक समस्या आउन सक्ने हुँदा तोकिएको मापदण्डभित्र रही मर्मतसम्भारपश्चात् नियमित उडान सञ्चालन गर्नु अन्तर्राष्ट्रिय अभ्यास रहिआएको छ। समस्याको प्रकृति र उपलब्ध साधनस्रोतको आधारमा सामान्यतः विमान केही समयभित्र नै मर्मतसम्भार सकेर उडानयोग्य हुन्छ भने कहिलेकाहीँ धेरै समय लाग्नसक्छ,’ विज्ञप्तिमा भनिएको छ।

प्राविधिक कारणले तीनवटा विमानका यात्रु दुईवटा विमानबाट ओसारपसार गर्नुपर्ने भएकाले उडान केही ढिला हुन गई यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचनासमेत गरेको छ।

प्रकाशित: ४ कार्तिक २०८१ २१:१६ | Sunday, October 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast