जनकपुर उड्न लागेको बुद्ध एयरमा यात्रुले आपतकालीन ढोका खोलेपछि..

हिमाल प्रेस २४ असोज २०८१ १४:४३ | Thursday, October 10, 2024
जनकपुर उड्न लागेको बुद्ध एयरमा यात्रुले आपतकालीन ढोका खोलेपछि..

काठमाडौँ- विमानको आपतकालीन ढोका खोल्ने एक जना यात्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विराटनगरबाट जनकपुरधामका लागि उड्न लागेको बुद्ध एयरको फ्लाइट नम्बर ५१३ को जहाजमा आपतकालीन ढोका खोलेका पंकजविक्रम साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एरको जहाज मौसम खराबीका कारण विराटनगरका लागि डाइभर्ट गरिएको थियो। साहले मौसममा सुधार भएपछि विराटनगरबाट जनकपुरका लागि उड्न तयार भएको जहाजको आपतकालीन ढोका खोलेका थिए।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले हवाई सुरक्षामा खलल पु¥याएकोले साहलाई प्रहरीले नियन्त्रणमा लिएको बताए।

यात्रीले आक्समिक ढोका खोलेपछि उडान प्रक्रिया अवरूद्ध हुनुका साथै उडान तालिका थप प्रभावित भएको कर्णले जानकारी दिए।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृत रूपमा यात्रुलाई जानकारी गराउने गरेको बताउँदै उनले आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न नमिल्ने उल्लेख गरे।

विमानका आपतकालीन ढोका खोल्न धेरै बल प्रयोग गर्नुपर्ने हुन्छ। उडानको तयारी गरिरहेकै बेला साहले नियतवस आपतकालीन ढोका खोलेर नियमविपरित काम गरेको बुद्ध एयरको भनाई छ।

यसअघि २ अक्टुबरका दिन विराटनगर–काठमाडौँ र ७ अक्टुबरका दिन नेपालगञ्ज–काठमाडौँको विमान पनि यात्रुले आपतकालीन ढोका खोलेको पाइएको बुद्ध एयरले जनाएको छ।

विनाकारण आपतकालीन ढोका खोल्ने यात्रीलाई एक वर्षदेखि तीन वर्ष कैद सजाय हुनसक्ने प्रावधान रहेको बुद्ध एयरका प्रवक्ता कर्णले बताए।

‘हवाई उडानमा खलल पु¥याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्ष कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजाय हुने प्रावधान छ,’ कर्णले भने।

यसका साथै सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई विमान सेवा प्रदायक सम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन्।

प्रकाशित: २४ असोज २०८१ १४:४३ | Thursday, October 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast