बुद्ध एयर
नेपालगन्ज- करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगन्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ। भारतबाट आउने धार्मिक पर्यटकको संख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगन्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको बुद्ध एयर, नेपालगन्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए।
एक महिना लामो मलमास परेकाले भारतबाट आउने भारतीय पर्यटक नआएका कारण र इन्धन मूल्य पनि महँगो भएका कारण नेपालगन्ज पोखरा उडान केही महिनाका लागि स्थगित भएको उनको भनाइ छ।
पर्यटन प्रवर्द्धन र भारतीय यात्रुलाई सहजता हुने उद्देश्यले वि.सं. २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगन्ज पोखरा उडान हुने गरेको थियो। सो उडान मंगलबारदेखि स्थगित भएको हो।
नेपालगन्ज–पोखरा सिधा हवाई उडान स्थगित भएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी र सर्वसाधारण निराश देखिएका छन्।
उडान रोकिएपछि अब यात्रुले फेरि सडकमार्गबाट कम्तीमा १४ घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ। एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) नेपालगन्जको पहलमा सो सेवा सञ्चालनमा आएको थियो।
नाट्टा नेपालगन्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले बुद्ध एयरले नियमित तालिका अनुसारको उडान रोकेको आधिकारिक जानकारी भएको उल्लेख गर्दै उडान अनिश्चित बनेको जिकिर बताए।




