काठमाडौँ- नजिकिँदो चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा बढाइएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ को सक्रियतामा क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर हवाई भाडाका विषयमा छलफल गरेको हो।
छलफलमा स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने र कायम भाडादरबारे सम्बन्धित वायुसेवाको बिक्री वितरण प्रणाली तथा प्लेटफर्ममा स्पष्ट सूचना राख्ने सहमति भएको क्यानले जनाएको छ।
आन्तरिक हवाई सेवाका लागि २०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट न्यूनतमदेखि अधिकतमसम्मको भाडादर निर्धारण गरिएको थियो।
सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोसप र एआई प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसट तथा सामग्रीबाट हवाई भाडाबारे भ्रम फैलाइएको भन्दै बुद्ध एयरले आपत्ति जनाएको छ।
बुद्ध एयरले बिहीबार जारी गरेको विज्ञप्तिमा धनगढीका लागि एकतर्फी हवाई टिकट १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको जनाएको छ। न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइरहेकाले अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीको भनाइ छ।
रसुवामा आएको बाढी तथा पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेपछि लामो समय सडक यातायात अवरुद्ध भएको अवस्थामा यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले बाटोघाटो सहज नहुन्जेल तथा दसैँ–तिहारसम्म न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने घोषणा गरेको बुद्ध एयरले जनाएको छ।
कम्पनीले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यममा कायम गरिएको भाडादरभन्दा बढी मूल्यमा कुनै व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमबाट अनधिकृत रूपमा टिकट बिक्री गरेको पाइएमा कानुनबमोजिम कारबाही अघि बढाउने चेतावनी दिएको छ।
बुद्ध एयरले यात्रुलाई सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट फैलाइएका स्क्रिनसट र सूचनाका आधारमा हवाई भाडासम्बन्धी धारणा नबनाउन आग्रह गरेको छ। भाडादर तथा टिकटसम्बन्धी जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट, मोबाइल एप तथा अन्य आधिकारिक बिक्री माध्यम प्रयोग गर्न उसले अनुरोध गरेको छ।
कम्पनीका अनुसार अहिले काठमाडौँ बाहिर जाने यात्रुको संख्या बढेको छ भने काठमाडौँ भित्रिने यात्रुको संख्या तुलनात्मक रूपमा कम छ। काठमाडौँ आउने यात्रुका लागि बुद्ध एयरले प्रोमो कोडमार्फत न्यूनतम भाडादरमा विभिन्न अफरसमेत उपलब्ध गराएको जनाएको छ।



