व्यावसायिक वातावरणमा नेपाल औसत मुलुक: विश्व बैंक

हिमाल प्रेस १८ असोज २०८१ ७:५५
12
SHARES
व्यावसायिक वातावरणमा नेपाल औसत मुलुक: विश्व बैंक

काठमाडौँ- विश्व बैंकले व्यावसायिक वातावरणमा नेपाल औसत मुलुक भएको उल्लेख गरेको छ । विश्व बैंकको फ्ल्यागशीप प्रकाशन विजनेस रेडी २०२४ सार्वजनिक गर्दै विश्व बैंकले लगानीको वातावरण सम्बन्धी सबै सूचकमा नेपालले औसत अंक प्राप्त गरेको जनाएको छ । इज अफ डुइङ विजनेस अर्थात व्यवसाय सम्बन्धी सहजताबारेको फ्ल्यागशीप रिपोर्ट सार्वजनिक गर्दै आएको विश्व बैंकले सन् २०१९ मा उक्त प्रतिवेदनका तथ्यांकलाई लिएर विवाद भएपछि उक्त प्रकाशन बन्द गरी यस वर्षदेखि नयाँ प्रकाशन शुरु गरेको हो ।

इज अफ डुइङ विजनेस अर्थात व्यवसाय सम्बन्धी सहजतामा नेपाल १९० मध्ये पहिलो ५० प्रतिशतभित्र श्रेणीकृत थियो । ९४औं स्थानमा रहेको नेपालले आयात सहजीकरणका लागि निर्माण गरेका वीरगन्ज एकीकृत जाँचचौकी तथा निर्माणाधीन अन्य एकीकृत जाँचचौकीहरूमार्फत सीमा व्यवस्थापन र सहजीकरणमार्फत व्यापारको समय र लागत घटाएकोले व्यावसायिक वातावरणमा सुधार आएको उक्त प्रतिवेदनले उल्लेख गरेको थियो ।

यसपटकदेखि भने तीन स्तम्भहरू – नियामकीय ढाँचा, सार्वजनिक सेवा र व्यवसाय सञ्चालनको दक्षतामा आधारित रहेर यसभित्र १० सूचकको प्रगति हेरिएको छ । सबै सूचकमा नेपालले औसत अंक प्राप्त गरेको छ । व्यवसाय दर्तामा नेपालले ६६.३६ अंक प्राप्त गरेको छ । त्यस्तै व्यावसायिक अवस्थितिमा ६०.५१, उपयोगी सेवाहरूमा ६५.३९, श्रममा ६५.७०, वित्तीय सेवामा ७०.५८, अन्तर्राष्ट्रिय व्यापारमा ६६.७७,करमा ५७.९९, विवाद समाधानमा ६४.४०, बजार प्रतिस्पर्धामा ३३.०६ र व्यावसायिक सामर्थ्यमा ५२.०४ अंक प्राप्त गरेको छ ।

नियामकीय व्यवस्था तथा कर सम्बन्धी व्यवस्थाहरूमा केही जटिलताहरू रहेका छन् । नेपालले व्यवासायीहरूले आयातमा तिरेको मूल्य अभिवृद्धि कर वस्तु र सामानको बिक्रीपश्चात कर कार्यालयमा बुझाएपछि त्यसको फर्छ्यौट गर्न चार महिना अर्थात एक सय २० दिन समय लगाउँदै आएको यसअघिको इज अफ डुइङ विजनेस प्रतिवेदनमा पनि उल्लेख गरिएको थियो । व्यवसायका लागि अनुपालना धेरै रहेको विजनेस रेडी २०२४ प्रतिवेदनले पनि उल्लेख गरेको छ ।

नेपाली बजारमा प्रतिस्पर्धा निकै कमजोर देखिएको छ । बजार प्रतिस्पर्धामा निकै कमजोर रहेको मुलुकमा लगानी भित्र्याउन कठिन हुन्छ । नेपालको वित्तीय सेवा भने तुलनात्मक रूपमा प्रतिस्पर्धी र राम्रो देखिन्छ ।

विजनेस रेडी २०२४ ले विश्वभरको लगानीको वातावरणको तुलनात्मक अवस्था प्रस्तुत गरेको छ । यो विश्व बैंकले निजी लगानीलाई सहजीकरण गरी रोजगारी सिर्जना गर्ने, उत्पादकत्व बढाउने र अर्थतन्त्रहरूलाई समावेशी र दिगो विकासतर्फ मुखरित गर्ने विश्व बैंकको रणनीतिको प्रमुख औजारका रूपमा यस प्रतिवेदनलाई लिइएको छ । यो  इज अफ डुइङ विजनेस प्रतिवेदनकै परिष्कृत संस्करण हो र यसले विश्वका विभिन्न अर्थतन्त्रहरूमा लगानीको वातावरणलाई सन्तुलित र पारदर्शी ढंगले मूल्यांकन गर्नुका साथै विश्व बैंकसँग आवद्ध र स्वतन्त्र विज्ञहरूमार्फत सुझावहरू समेत पेश गर्दछ । विजनेस रेडीले विश्वभरका अर्थतन्त्रहरूको व्यावसायिक वातावरणको सम्बन्धमा हरेक वर्ष परिमाणात्मक मूल्यांकन सार्वजनिक गर्दछ ।

 

प्रकाशित: १८ असोज २०८१ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =