पूर्वाञ्चल विविको परीक्षा अनिश्चित, विद्यार्थी आक्रोशित

हिमाल प्रेस १३ असोज २०८१ १२:५८
88
SHARES
पूर्वाञ्चल विविको परीक्षा अनिश्चित, विद्यार्थी आक्रोशित

काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयले जारी परीक्षा स्थगित गरेर अर्को मिति तय नगर्दा विद्यार्थी समस्यामा परेका छन्। विश्वविद्यालयले भदौ ३० गतेदेखि व्यवस्थापन, विज्ञान तथा प्रविधि इन्जिनियरीङ, चिकित्साशास्त्र, कला, शिक्षाशास्त्र संकायको परीक्षा सञ्चालन गरिरहेको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबार देशभर अविरल वर्षाका कारण बाढी, डुबान जनधनको हुनसक्ने क्षतिलाई  दृष्टिगत गर्दै विद्यालय, विश्वविद्यालयमा पठनपाठन स्थगित गर्न निर्देशन दिएको थियो। मन्त्रालयको उक्त निर्देशनमा परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका परीक्षा निरीक्षक बालेन्दु हमालले एक सूचना जारी गर्दै स्थगित परीक्षा सञ्चालन मिति यथाशीघ्र तोक्ने बताएका छन्।

सूचनामा भनिएको छ,‘यस विश्वविद्यालयद्वारा व्यवस्थापन, विज्ञान तथा प्रविधि इन्जिनियरीङ, चिकित्साशास्त्र, कला, शिक्षाशास्त्र संकायका विभिन्न शैक्षिक कार्यक्रमहरूको सेमेस्टर तथा वार्षिक प्रणालीअन्तर्गत नियमित:आंशिक,मौका परीक्षाहरू सञ्चालन भइरहेकोमा देशभर अविरल वर्षाका कारण जटिल परिस्थिति उत्पन्न भएकाले २०८१/०६/१३ र १४ गते सञ्चालन हुने सम्पूर्ण परीक्षाहरू अर्को सूचना प्रकाशित नभइन्जेलसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

परीक्षा नियन्त्रक हमालले स्थगित गरिएका परीक्षाहरूको परीक्षा तालिका यथाशीघ्र प्रकाशित गरिने बताए।

एम.ए पहिलो सेमेस्टरका परीक्षार्थी विवेक विवश रेग्मीले पूर्वाञ्चल विश्वविद्यालयको लापरबाहीले दुःख पाइएको गुनासो गरे। पूर्वाञ्चल विश्वविद्यालयमा अध्ययन गर्ने अधिक विद्यार्थी काठमाडौँ उपत्यका बाहिरका रहेको बताउँदै परीक्षार्थी रेग्मीले परीक्षा स्थगितले उपत्यका बाहिरका विद्यार्थीलाई बढी समस्या भएको बताए।

‘परीक्षा रोक्नुपर्ने कुनै कारण छैन। पियूमा अध्ययन गर्ने धेरै विद्यार्थी उपत्यका बाहिरका छन्। परीक्षा दिन काठमाडौँ आउन समस्या हुन्छ। बस्न, खान समस्या हुन्छ। खर्च पनि बढ्छ। विश्वविद्यालयले विद्यार्थीको मर्का बुझ्नुपर्दैन? चलिरहेको परीक्षा रोक्नुपर्ने कुनै कारण छैन,’ परीक्षार्थी रेग्मीले भने।

एमए पहिलो सेमेस्टर आमसञ्चार र पत्रकारिताको परीक्षा दिनकै लागि धनुषाबाट काठमाडौँ आएका अर्का परीक्षार्थी विजय सिंहले पनि विश्वविद्यालयले परीक्षा स्थगित गरेपछि समस्या भएको बताए। परीक्षा स्थगित भएपछि आफूहरू अलपत्र बनेको हिमालप्रेसलाई बताए।

उनले भने, ‘अचानक परीक्षा स्थगित भएपछि अलपत्रमा परेँजस्तै भएको छ। परीक्षाकै लागि घर (धनुषा) बाट ल्याएको खर्च पनि सकिन लाग्यो। काठमाडौँमा धेरै दिन बस्न गाह्रो छ। परीक्षा कहिले हुन्छ निश्चित छैन। विश्वविद्यालयले अन्योलनमा पारेको छ। घर जान पनि गाह्रो छ।’

पूर्वाञ्चलन विश्वविद्यालयका सहायक परीक्षा नियन्त्रक अजय शाहले सरकारको निर्देशनमा नै परीक्षा स्थगित गरिएको जानकारी दिँदै आज र भोलिका लागि स्थगित परीक्षा मिति आजै तोक्ने तयारी भइरहेको जानकारी दिए।

उनले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार नै विश्वविद्यालयले जारी परीक्षा स्थगित गरेको हो। आज र भोलि हुने परीक्षा स्थगित गरेका हौं। स्थगित परीक्षा सञ्चालनको मिति आजै तोक्छौँ। बैठक बस्दैछौँ।’

प्रकाशित: १३ असोज २०८१ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =