प्राकृतिक विपद्का कारण भदौ १३ गतेदेखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन

हिमाल प्रेस १२ भदौ २०८३ ६:३८ | Friday, August 28, 2026
प्राकृतिक विपद्का कारण भदौ १३ गतेदेखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन

काठमाडौँ- प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भदौ १३ गतेदेखि देशभरका विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएका छन्।

मन्त्री पोखरेलले विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिएका हुन्। उनका अनुसार स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्नुपर्नेछ।

भदौ १२ गतेका लागि निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि समेत उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन विश्वविद्यालयहरूलाई निर्देशन दिइएको छ।

मन्त्री पोखरेलले विपद्का कारण विश्वविद्यालयका शैक्षिक गतिविधिमा परेको असरलाई ध्यानमा राख्दै अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्न पनि आग्रह गरेका छन्।

त्यसैगरी, विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्न निर्देशन दिइएको छ।

प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्नसमेत भनिएको छ।

विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता कायम राख्न आवश्यक व्यवस्था गर्न पनि मन्त्री पोखरेलले विश्वविद्यालयहरूलाई आग्रह गरेका छन्।

‘विपद्को यस कठिन समयमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिई आवश्यक निर्णय लिनुहोस्’ मन्त्री पोखरेलले भनेका छन्।

प्रकाशित: १२ भदौ २०८३ ६:३८ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast