कक्षा ५ सम्मको आन्तरिक परीक्षा बन्द गर्न विद्यालयलाई निर्देशन

हिमाल प्रेस २५ साउन २०८३ १७:०१ | Monday, August 10, 2026
48
SHARES
कक्षा ५ सम्मको आन्तरिक परीक्षा बन्द गर्न विद्यालयलाई निर्देशन

काठमाडौँ- कक्षा ५ सम्मका विद्यार्थीलाई लिइँदै आएको आन्तरिक परीक्षा बन्द गरी वैकल्पिक मूल्यांकन प्रणाली लागू गर्न पर्वतका विद्यालयलाई निर्देशन दिइएको छ।

शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) को निर्णय कार्यान्वयनसम्बन्धी पत्रअनुसार शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले जिल्लास्थित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई यस्तो निर्देशन दिएको हो।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शैक्षिक सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत बुँदा नम्बर ५९ मा कक्षा ५ सम्मका विद्यार्थीलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने उल्लेख छ। त्यसको सट्टा विद्यार्थीमा मनोवैज्ञानिक असर तथा अनावश्यक दबाब नपर्ने खालको वैकल्पिक मूल्यांकन प्रणाली विकास गर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ।

सोही निर्णयअनुसार जारी विद्यार्थी मूल्यांकन मार्गदर्शन, २०८३ बमोजिम आधारभूत तह कक्षा १ देखि ५ सम्म विद्यार्थीको मूल्यांकन गर्न विद्यालयलाई आग्रह गरिएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका अनुसार जिल्लाका कतिपय विद्यालयले कक्षा १ देखि ५ सम्म आन्तरिक मूल्यांकनका लागि त्रैमासिक परीक्षाको सहायताबाट मूल्यांकन प्रणाली अपनाउँदै आएका छन्। अब भने विद्यार्थी मूल्यांकन मार्गदर्शन,२०८३ ले तोकेका विभिन्न सूचक तथा मापदण्डका आधारमा विद्यार्थीको मूल्यांकन गर्नुपर्नेछ।

पत्रमा विद्यालयले नयाँ मूल्यांकन प्रक्रियालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा गराउन आग्रह गरिएको छ। विद्यार्थी मूल्यांकनका सम्भाव्य तरिका र साधनसम्बन्धी सामग्रीसमेत पत्रसँगै संलग्न गरिएको जनाइएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले स्थानीय तहहरूलाई समेत आवश्यक सहयोग र सहजीकरण गरिदिन आग्रह गरेको छ।

प्रकाशित: २५ साउन २०८३ १७:०१ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast