घुस नखाने खरदार, नायव सुब्बा र पियनका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्छन् : सांसद पन्त

हिमाल प्रेस ६ असोज २०८१ १६:५२ | Sunday, September 22, 2024
घुस नखाने खरदार, नायव सुब्बा र पियनका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्छन् : सांसद पन्त

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले घुस खान नसक्ने खरदार, नायव सुब्बा र पियनका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्ने गरेको पाइएको बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथि बोल्दै सांसद पन्तले प्रारम्भिक तहदेखि नै शिक्षामा वर्गीय विभेद भएको बताउँदै त्यसको अन्त्य गर्नुपर्ने बताए।

पन्तले भने,‘हिजो करोडपतिको छोरा र पियनको छोरा एउटै स्कुलमा पढ्थे। आज करोडपतिका छोराछोरी सरकारी स्कुलमा पढ्दैनन्। घुस खान नसक्ने खरदार र नायव सुब्बाका छोराछोरी सरकारी स्कुलमा पढ्नछन्। किसानका छोराछोरी सरकारी स्कुलमा पढ्छन्। शिक्षामा नर्सरी र प्रारम्भिक तहदेखि नै भेदभाव र असमानता छ। यसलाई हटाउन सकिएन भने समाजवादको बाटोमा जान सकिँदैन।’

समिति बैठकमा सांसद पन्तले विद्यालयमा नेपाली भाषा बोलेकै आधारमा विद्यार्थीलाई कारबाही गर्ने केही बोर्डिङ स्कुललाई दण्डित गर्नुपर्ने पनि बताए। उनले भने, ‘केही बोर्डिङ स्कुललाई दण्डित गर्नुपर्छ। नेपालमा स्कुल खोल्ने, पढाउने शिक्षक नेपाली हुने, पढ्ने विद्यार्थी नेपाली हुने। त्यहाँ झुक्किएर नेपाली बोल्यो भने विद्यार्थीले पिटाइ खानुपर्ने यो कहाँको सिस्टम हो?’

उनले शिक्षाको वर्तमान समस्या औंल्याउँदै प्रारम्भिक तहमा मातृ भाषा शिक्षामा जोड दिनुपर्ने बताए। त्यसैगरी उनले बीए पास गरेको विद्यार्थी नेपाली भाषामा निवेदन लेख्न पनि नचाहने दाबी गरे।

‘हामीले प्रारम्भिक तहमा मातृ भाषामा जोड दिनुपर्छ। ६ दिन हामीले पढाएका हुन्छौं भने तीन दिन नेपाली बोल,तीन दिन अंग्रेजीमात्र बोला भन्नुपर्छ। तपाईंले कत्तिको महसुस गर्नु भएको छ, प्रारम्भिक तहमा पढिरहेको विद्यार्थी नेपाली पढ्दैन। बीए पास गरेको विद्यार्थी नेपालीमा निवेदन लेख्न चाहँदैन। शिक्षाको हालत त्यो छ,’ सांसद पन्तले भने।

प्रकाशित: ६ असोज २०८१ १६:५२ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast